आरती कुँवर
वालिङ, ४ असार ।
स्याङ्जाको वालिङ वडा नं ५, ६ र ७ मा गरिएको क्षयरोग खोज पड्ताल अभियानमा १४ जना क्षयरोगका बिरामी फेला परेका छन् । वालिङ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना, जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)को प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको समन्वयमा सोमबार क्षयरोग खोज पड्ताल अभियान शिविर गरिएको थियो । शिविरमा आएका मध्ये १४ जनामा क्षयरोग पहिचान भएको वालिङ नगरपालिकाका क्षयरोग मुक्त अभियानका संयोजक मोनिका कोइरालाले जनकारी दिनुभयो । ८ जना पुरुष र ५ जना महिला गरी १४ जनामा क्षयरोग देखिएको र रोग पहिचाज भएका बिरामीहरुलाई निःशुल्क औषधी सेवनको लागि स्वास्थ्य संस्थामा पठाइएको वडा नं ५ का वडा अध्यक्ष छविलाल आलेले जानकारी दिनुभयो ।

शिविरमा २२५ जना पुरुष र ३५५ जना महिला गरी ५८० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । छातीको एक्सरे गर्दा २२ जना पुरुष र २६ जना महिलामा क्षयरोग हुनसक्ने आशंकामा खकारको नमुना परीक्षण गर्दा १४ जनामा क्षयरोग पहिचान भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो । शिविरमा एआई पद्धतिको डिजिटल पोर्टेबल आधुनिक मेशिनबाट विशेषज्ञ चिकित्सक सहितको टोलीले छातीको एक्सरे विधिबाट स्वास्थ्य परीक्षणमा गरिएको थियो । राष्ट्रिय कार्यक्रम क्षयरोग मुक्त पालिका अभियान अन्र्तगत वालिङको वडा नं ५, ६ र ७ मा क्षयरोग खोज पड्ताल अभियान शिविर गरिएको प्रमुख पाण्डले बताउनुभयो ।





