तोलाकान्त बगाले
वालिङ, २८ जेठ ।
जिल्ला सैनिक बोर्ड (डिएसबी) वालिङ परिसरमा बुधबार जिम्न्यास्टिक भवनको उद्घाटन गरिएको छ । जिम्न्यास्टिक भवनको डाईरेक्टर जनरल डिसिप्लिन सिरोमनिय वेलफेयर लेफ्टिनेन्ट जनरल रञ्जितसिंहले उद्घाटन गर्नुभएको हो । जिम्न्यास्टिक ट्रेनिङ भवनको उद्घाटन तथा भूतपूर्व सैनिकहरुसँगको अन्तरक्रियात्मक कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाल र भारत दुई देशबीच गहिरो र पुरानो सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले भारतीय सेनामा कार्यरत भारतीय सैनिक तथा गोर्खा सैनिकलाई कुनैपनि प्रकारको विभेद नगरी समान सेवा सुविधा भारतीय सरकारले उपलब्ध गराउँदै आएको बताउनुभयो ।
गोर्खा सैनिकले देखाएको अनुशासन, कडा मेहेनत, सामूहिकता, कामप्रतिको लगनशीलताकाकारण संसारभर छुट्टै पहिचान कमाएको बताउनुभयो ।

भूतपूर्व भारतीय सैनिक तथा उहाँको परिवारका सदस्यहरुलाई लक्षित गरी आत्मनिर्भरतासम्बन्धी सिलाई कटाई, कम्प्युटर तालिम तथा विद्यालयहरुमा सहयोगहरु गर्दै आएको बताउँदै आगामी दिनमा पनि निरन्तररुपमा सहयोगका कार्यक्रम जारी रहने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा लेफ्टिनेन्ट जनरल रञ्जित सिंहकी धर्मपत्नी, रक्षा सहचारी भि. सुब्रनियम, कर्णेल धुन्डुप केरुङ्गा, ओआईसी पोखराका लेफ्टिनेन्ट कर्णेल प्रशान्तसिंह भगेल, प्रशान्तसिंह भगेलकी धर्मपत्नी, जिल्ला सैनिक बोर्ड पोखराका सेक्रेटरी क्याप्टेन शिबबहादुर क्षेत्री, भूतपूर्व सैनिक कर्णेल धनबहादुर थापा र उहाँकी धर्मपत्नी, एसिस्टेन्ट कमाण्ड बि एण्ड एफ सिके पंगेनीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला सैनिक बोर्ड वालिङकातर्फबाट डिएसबी सेक्रेटरी हनेरी सुबेदार मेजर नरबहादुर पुनले जिल्ला सैनिक बोर्ड वालिङबाट भएका गतिविधिहरुकाबारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा भूपू सैनिक विकास एवम् कल्याणकारी संघ जिल्ला सैनिक बोर्ड वालिङका अध्यक्ष दीपेन्द्र खाँणले लेफ्टिनेन्ट जनरल रञ्जित सिंहले यहाँका समस्याहरुकाबारेमा भूतपूर्व सैनिक तथा उहाँहरुका परिवारले उठाएका विषयहरु राम्रोसँग बुझेर जानुभएकाले आगामी दिनमा देखिएका समस्याहरु समाधान हुँदै जाने विश्वास ब्यक्त गर्नुभयो ।

जिम्न्यास्टिक संघ वालिङका अध्यक्ष ताराप्रसाद श्रेष्ठले डिएसवी कार्यालय परिसरभित्र सञ्चालनमा आएको ट्रेनिङ सेन्टरमा आएर निशुल्करुपमा ट्रेनिङ लिन सक्ने बताउनुभयो । जिम्न्यास्टिक खेलको प्रचार प्रसार र नयाँ नयाँ खेलाडीहरु उत्पादन गर्नमा आगामी दिनमा थप टेवा पुग्ने दावी अध्यक्ष श्रेष्ठको छ ।

डिएसबी कार्यालय वालिङमा उपस्थित हुनुभएका भूतपूर्व सैनिक तथा वीर नारीहरुले अतिथिहरुलाई खादामाला तथा पुष्पगुच्छासहित स्वागत गर्नुभएको थियो ।









