केदारनाथ मन्दिरमा महायज्ञ गरिने

0
489
Google search engine

वालिङ, १५ चैत ।
स्याङ्जाको वालिङ ८ मा रहेको केदारनाथ मन्दिरलाई शिवधामकोरुपमा विकास गर्नकालागि महायज्ञ गरिने भएको छ । केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा आगामी वैशाख १७ गतेदेखि २३ गतेसम्म केदारनाथ शिवधाम निर्माणार्थ श्रीमद्भागवत सप्ताह तण्डुलाचल, श्रृङ्गारिक आरती, महायज्ञ धार्मिक अनुष्ठान हुने भएको हो ।
शुक्रबार वालिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै वालिङ नगर प्रमुख कृष्ण खाँणले वालिङको एउटा गहनाकोरुपमा रहेको केदारनाथ मन्दिरको धार्मिक एवम् ऐतिहासिक महत्वकाबारेमा थप प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवद्र्धनसँग जोड्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह«ेले मन्दिर ब्यवस्थापन समिति र नगरपालिकाको सहकार्यमा हुने धार्मिक कार्यक्रममा सहभागी भई कथा श्रवण गर्न अनुरोध गर्नुभयो । उहाँले दाताहरुबाट प्राप्त दानको सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भागवत अलंकार धार्मिक ब्यक्तित्व पण्डित नेत्रप्रसाद पराजुलीले मन्दिरलाई शिवधाम निर्माण गर्नकालागि आवश्यक पर्ने पक्रिया तथा पूर्वाधारहरु निर्माण गर्न साथै मन्दिरको दीगोपनाकालागि पनि महायज्ञले टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा पदमप्रसाद पाण्डेले शहरमा बजारमा भाडामा बस्नेहरुकालागि विशेष गरी मृत्यु संस्कार अन्तर्गतको काज किरिया बस्ने ठाउँको अभाव हुँदा यहाँ काज किरिया बस्न मिल्ने गरी भवन निर्माण गर्ने तयारी रहेको उहाँले बताउनुभयो । केदारनाथ मन्दिरको धार्मिक एवम् ऐतिहासिक महत्वलाई उजागर गर्दै पहिचान स्थापित गर्नकालागि धिवधाममा परिणत गर्ने तयारी थालिएको हो ।
वालिङ बजारको नजिकै सिद्धार्थ राजमार्गको किनारामै अवस्थित मन्दिरको धार्मिक महत्वकाबारेमा जानकारी दिंदै शिवधाममा परिणत गर्ने उद्देश्यसहित श्रीमद्भागवत महायज्ञ गरिने भएको केदारनाथ मन्दिर महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँणले बताउनुभयो ।
सिद्धार्थ राजमार्गको किनारामै अवस्थित रहेकाले सडक विस्तार गर्दा मन्दिर स्थानान्तरण वा संरक्षण गर्नुपर्ने समस्याकारुपमा देखिएको छ । मन्दिर परिसरमा धर्मशाला निर्माण गर्ने, तीर्थयात्रीकालागि आवासको ब्यवस्था गर्ने, संस्कृत भाषा अनुसन्धान केन्द्र (गुरुकूलम) सञ्चालन गर्ने, क्रियापुत्री भवन निर्माण गर्ने, अन्न क्षेत्र स्थापना गर्ने र आर्थिक संकट मोचनकालागि सवा करोड हवन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

Google search engine
Google search engine