गोपिकृष्ण रेग्मी
चापाकोट २०, फागुन ।
स्याङ्जाको चापाकोट नगरपालिकामा दुई सय तीस वटा कुकुरको बन्ध्याकरण गरिएको छ । चापाकोट नगरपालिका र भेटेरीनरी अस्पताल पशुविज्ञ केन्द्रको प्राविधिक सहयोगमा चापाकोटमा दुई सय तीस वटा कुकुरको बन्धाकरण गरिएको हो ।
सामुदायिक कुकुरहरुको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाँणले बताउनुभयो । शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरहरुलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्यााइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रणमा लिइएको स्थानमै छाड्ने गरेको उहाँको भनाइ थियो । यस शिविरले सामुदायिक कुकुरहरुको संख्यामा कमी र रेबिजको प्रकोप न्यूनिकरण हुनेमा विश्वास लिइएको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन भएको बन्ध्याकरण शिविरबाट घरपालुवा बुढो र विरामी भएपछि बाटो र बजार क्षेत्रमा छाडा छोडिएका कुकुरलाई नियन्त्रणमा लिएपछि सडक दुर्घटनामा समेत न्यूनिकरण भई उपलब्धी हुने उद्योग वाणिज्य संघ चापाकोटका अध्यक्ष निर्मल राना मगरले बताउनुभयो ।





