आरती कुँवर
वालिङ, २१ फागुन ।
वालिङ चेम्बर अफ कमर्शको आयोजनामा प्रथम पिंक सिटी महोत्सव आजदेखी शुरु हुँदै छ । महोत्सवको उद्घाटन पुर्वमन्त्री पदमा कुमारी अर्यालले गर्नुहुने भएको छ । पुर्वमन्त्री तथा एमाले सचिव अर्याले महोत्सवको उद्घाटन गर्ने तय भएको चेम्बर अफ कमर्शका महासचिव तथा महोत्सव प्रचारप्रसार समिति संयोजक गणेश राउतले जानकारी दिनुभयो । यस अघि उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी आउने भनिएपनि उहाँ नआउने पक्कापक्की भएपछि अर्यालले महोत्सवको प्रमुख अतिथिका रुपमा ल्याउने निर्णय गरिएको उहाँको भनाई छ । साथै आजदेखि शुरु हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको समेत संयोजक राउतले जानकारी दिनुभयो ।
यस्तै महोत्सव स्थलमा तारबार गर्ने, बाल उद्यान निर्माण, स्टल निर्माण, मञ्च निर्माणलगायतका तयारी समेत पुरा भएको चेम्बर अफ कमर्शका अध्यक्ष एवम् महोत्सव मुल आयोजक समितिका संयोजक प्रकाश न्यौपानेले जानकारी दिनुभयो । उहाँले आजदेखि शुरु हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको बताउँदै महोत्सव सफल बनाउनका लागि महोत्सवमा सहभागि भईदिनुहुन सम्पुर्णमा अनुरोध गर्नुभएको छ ।
महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।
महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने, चेम्बरलाई ट्याग गर्नेलाई लाईक र भ्युजको आधारमा विजेता, उपविजेता छनोट गरिनेछन् । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगितालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन् ।
महोत्सवमा २५० स्टल छन् । महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा रु. ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान आयोजकले गरेको छ । वालिङ, ८ खेलमैदानमा हुने महोत्सव चैत्र ३ गते समापन हुनेछ ।