तोलाकान्त बगाले
वालिङ, १७ फागुन ।
नवजागरण संस्थाको शनिबार तेस्रो साधारण सभा गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ मा अवस्थित मौलादेवी वैघा गाउँ होमस्टेमा तेस्रो साधारणसभा सम्पन्न भएको हो ।
तेस्रो साधारणसभामा सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री सरस्वती अर्याल तिवारीले संस्थाले स्थापना भएको छोटो समयमै विभिन्न सामाजिक क्षेत्रहरुमा उदाहरणीय कार्य गर्दै आएको बताउँदै आगामी दिनमा थप सामाजिक सेवासहितका गतिविधिमा जोड दिन आग्रह गर्नुभयो । “आगामी दिनमा पनि मानवीय सेवाभावसँग जोडिएका क्षेत्रहरुमा संस्थाले योजना बनाओस्” उहाँले भन्नुभयो, “मैंले आफ्नोतर्फबाट सक्दो सहयोग गर्दै जानेछु ।”
साधारणसभामा भीरकोट नगरपालिकाका पूर्व नगर प्रमुख छायाराम खनाल, गरिमा विकास बैंकका पूर्व अध्यक्ष जलेश्वर पाण्डे, कालीगण्डकी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डे, संस्थाका सचिव हिमलाल पंगेनी, संस्थाका सदस्य यज्ञप्रसाद अधिकारीलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
तेस्रो साधारणसभाको अवसरमा संस्थामा अक्षयकोष स्थापना गर्नकालागि आर्थिक सहयोग गर्ने विभिन्न अक्षयकोषदाताहरुलाई सम्मानसमेत गरिएको थियो ।
संस्थाको विगतदेखिनै साधारणसभाहरु जिल्लाका विभिन्न शक्ति पीठ, धार्मिक स्थलहरुमा गरिंदै आएको र त्यसैको निरन्तरतास्वरुप यसपटक प्रसिद्ध धार्मिक स्थल आलमदेवी दर्शनपश्चात मौलादेवी मन्दिर प्राङ्गणमा सम्पन्न गरिएको अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो ।
धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले विगतदेखि नै साधारणसभा गरिंदै आएको दावी अध्यक्ष खनालको थियो ।
साधारणसभामा उपस्थित भएका संस्थाका साधारण सदस्य तथा अन्य अतिथिहरुलाई स्थानीय मौलादेवी वैघा होमस्टेका महिला दिदीबहिनीहरुले न्यानो स्वागत तथा आतिथ्यता प्रदान गर्नुभएको थियो ।
होमस्टेका महिला दिदीबहिनीहरुले विविध सांस्कृतिक नृत्यहरु प्रस्तुत गरी अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।