विकास र जनसेवाको अनुभवसहित केशभक्त गुरुङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

0
7
Google search engine

वालिङ, १० असोज ।

Google search engine

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ बाट जनजातितर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा केशभक्त गुरुङले उम्मेदवारी प्रस्तुत गर्नुभएको छ। गुरुङले आफ्नो उम्मेदवारी कुनै एक पद प्राप्तिका लागि मात्र नभई क्षेत्रको विकास, समृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि भएको बताउनुभएको छ। उहाँले पार्टी संगठनलाई सुदृढ बनाउँदै जनताको आवाजलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विभिन्न सामाजिक, धार्मिक, खेलकुद तथा सामुदायिक संस्थामा जिम्मेवारी निर्वाह गरिसक्नुभएका गुरुङसँग स्थानीय विकास र सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ।

उहाँ हाल गह्रौंसुर धार्मिक तथा पर्यटकीय केन्द्रका कोषाध्यक्ष, गह्रौंसुर मन्दिर निर्माण समितिका कोषाध्यक्ष तथा चिलाउनेपानी–लाखुडाँडा–गह्रौंसुर खानेपानी उपभोक्ता समितिका अध्यक्षका रूपमा जिम्मेवारीमा रहनुभएको छ। त्यस्तै, रिटर्निज कोरिया संस्थाका कोषाध्यक्ष, जिल्ला भलिबल संघ स्याङ्जाका प्रदेश प्रतिनिधि तथा जिल्ला खेलकुद विकास समितिका निवर्तमान उपाध्यक्षका रूपमा समेत काम गरिसक्नुभएको छ। गुरुङ वालिङ–काफलडाँडा–रोग्दीठाँटी–चापाकोट सडकका निवर्तमान उपाध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेश प्रतिनिधि समेत रहिसक्नुभएको छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ स्याङ्जाको निवर्तमान अध्यक्ष रहेर खेलकुदका माध्यमबाट युवावर्गमा लोकप्रिय बन्नुभएका गुरुङले राजनीतिमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ र पछिल्लो समय उहाँ विकास निर्माणका कार्यहरूमा समेत अत्यधिक सक्रिय रहँदै आउनुभएको छ। विभिन्न जिम्मेवारीबाट प्राप्त अनुभवलाई पार्टी संगठन र जनताको हितमा उपयोग गर्ने बताउँदै उहाँले क्षेत्रीय प्रतिनिधिहरूबाट अमूल्य मत, साथ, सहयोग, सुझाव, सहकार्य र विश्वासको अपेक्षा गर्नुभएको छ। गुरुङले आफ्नो धारणा व्यक्त गर्दै भन्नुभएको छ, “मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन, हाम्रो क्षेत्रको विकास, समृद्धि र उज्ज्वल भविष्यका लागि हो। यहाँले विश्वासलाई आत्मसात् गर्दै इमानदार, जिम्मेवार र जनमुखी यात्रालाई निरन्तरता दिने प्रतिबद्धता गर्दछु।”

Google search engine