तोलाकान्त बगाले
वालिङ, २० भदौ।
निको फाउण्डेशनले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ जम्मा गरेको छ। फाउण्डेशनकी अध्यक्ष अञ्जु शर्माले एक नेपालीलाई परेको पीडा र दुःखमा अर्को नेपालीले सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ उक्त रकम हस्तान्तरण गरिएको जानकारी दिनुभयो। विपद्को यस घडीमा प्रभावित परिवारको उद्धार, राहत तथा पुनस्थापनमा राहत पुगोस् भन्ने उद्देश्यले संस्थाले यो कदम चालेको हो। फाउण्डेशनले यसअघि पनि नेपालका विभिन्न स्वास्थ्य, सामाजिक क्षेत्रका साथै दैवी प्रकोप परेका बेला अग्रपंक्तिमा रहेर निरन्तर रूपमा सहयोग उपलब्ध गराउँदै आएको छ। अमेरिकाको भर्जिनियामा झण्डै एक दशक अगाडि सामाजिक क्षेत्रमा काम गर्ने उद्धेश्यसहित स्थापना भएको निको फाउण्डेशनले नेपालसहित अन्य देशहरुमा पनि सामाजिक र मानवीय सहायताका कार्यक्रमहरु गर्दै आएको छ । निस्वार्थ भावले मानवीय सहयोगका कार्यक्रमहरुलाई सर्वोपरी राखेर काम गर्दै आएको संस्था यसपटक पनि रसुवास्थित भोटेकोशी नदीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा प्रत्यक्ष र अन्यत्रबाट त्यहाँ रोजगारीको शिलशिलामा वा धार्मिक यात्रा, व्यापारका दृष्टिले पुगेका बाढी प्रभावितहरुलाई लक्षित गरी आर्थिक सहयोग सरकारलाई उपलब्ध गराएको हो ।





