प्रचार प्रसारको अभावमा ‘सिद्ध गुफा’ ओझेलमा

0
1
Google search engine

तोलाकान्त बगाले
वालिङ, १५ भदौ ।

Google search engine

यहाँको धार्मिक आस्थाकोरुपमा रहेको सिद्ध गुफाको प्रचार प्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको छ । स्याङ्जाको गल्याङ नगरपालिका १० छहरामा अवस्थित सिद्ध गुफाको धार्मिक एवम् ऐतिहासिक महत्व हुँदाहुँदै पनि यसको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको हो । धेरै वर्ष पहिले गाई गोरु हेर्न आएका गोठालाहरुले गुफा देखेपछि सिद्धको शक्ति रहेको स्थानकोरुपमा यस ठाउँलाई सिद्धको थानकोरुपमा पूजाआजा गर्न थालिएको गल्याङ १० सिमलसौराका ९० वर्षीय ज्येष्ठ नागरिक एवम् मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर खनालले बताउनुभयो । गाई गोरु चराउन आएका गोठालाहरुले पहाडको भित्रपट्टि रहेको गुफा पत्ता लगाएका थिए । उक्त गुफाभित्र अहिले पनि गाईका थुनहरु, शंख, मादल, मौलोलगायतका विभिन्न आकृतिहरु स्पष्टसँग देख्न सकिने उहाँले बताउनुभयो । “गुफाको बाहिरबाट छहरा झरिरहेको छ भने भित्रपट्टि विभिन्न आकृतिहरु रहेका छन्” उहाँले भन्नुभयो, “यहाँ सिद्धको शक्ति रहेको धार्मिक मान्यतापश्चात यस ठाउँमा शिव मन्दिर बनाएका छौं ।”
सुरुमा स्थानीयहरुले खरले छाएर सामान्य खालको मन्दिर बनाएर पूजाआजा गर्दै आएका थिए । वि.सं २०५६ सालमा स्थानीयहरुको अगुवाईमा मन्दिरलाई व्यवस्थित बनाउनकालागि देउसी भैलो खेलेर रकम संकलन गरेर हालको मन्दिर बनाईएको उहाँले बताउनुभयो । “पुरानो मन्दिरलाई संरक्षण र व्यवस्थित गर्नकालागि स्थानीयहरुले देउसी भैलो खेलेर रकम संकलन गर्ने योजना बनायौं” उहाँले भन्नुभयो, “निक्कै टाढा–टाढासम्म गएर मन्दिर निर्माणकालागि रकम संकलन ग¥यौं, सोही रकमबाट मन्दिर निर्माण गरेका हौं ।”

सिद्ध गुफा मन्दिरको धार्मिक एवम् ऐतिहासिक महत्व हुँदा हुँदै पनि यसको समय अनुसार प्रचार प्रसार गर्न नसक्दा धार्मिक पर्यटकहरुलाई मन्दिरसम्म पु¥याउन सकिएको छैन । मन्दिरमा बिबाह, ब्रतबन्ध, ग्रहशान्ति, सत्यनारायण पूजा, भजन किर्तन हुने गरेतापनि पछिल्लो समय गाउँघरमा युवा पुस्ताहरु नहुँदा पहिलाको जस्तो गतिविधिहरु हुन सकेको छैन । यहाँको धार्मिक महत्वकाबारेमा बुझाउन नसक्दा पनि धार्मिक पर्यटकहरु आउनेक्रम बढ्न नसकेको उहाँले दावी गर्नुभयो ।
मन्दिरसम्म पुग्नकालागि रु. दुई लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार, वडा कार्यालय र स्थानीयको लागत साझेदारीमा गुफा परिसरमा पौवा निर्माण गरिएको वडा अध्यक्ष मुक्तिप्रसाद खनालले बताउनुभयो । “यस ठाउँको धार्मिक महत्व हुँदाहुँदै पनि हामीले प्रचार प्रसार गर्न सकिरहेका छैनौं” उहाँले भन्नुभयो, “यहाँको धार्मिक महत्वकाबारेमा प्रचार प्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन सकेको खण्डमा यस ठाउँले छिट्टै फड्को मार्न सक्ने विश्वास लिएका छौं ।” पहाडको भिरालो परेको खोँचमा एकान्त स्थानमा उक्त गुफा रहेको छ । प्राकृतिक छटाले सजिएको उक्त गुफामा पुगेपछि जोकोहीको पनि मन आनन्दित हुने गरेको छ । यसको प्रचार प्रसार गर्न सकेको खण्डमा धार्मिकसँगै पर्यटकीय दृष्टिले पनि यसको महत्व बढेर जाने स्थानीयहरु बताउँछन् ।

Google search engine