वालिङ, १५ भदौ ।
पतञ्जलि नेपालले भोटेकोशी बाढी पहिरो प्रभावित क्षेत्रका नागरिकलाई राहतस्वरुप दुई करोड ११ लाख उपलब्ध गराएको छ । योग ऋषि रामदेवजी महाराज र आयुर्वेद शिरोमणि बालकृष्णजी महाराजको विशेष पहलमा पतञ्जलिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको हो। पतञ्जलि नेपालका तर्फबाट डा. पवमान सुवेदी, युवराज सुवेदी र ओम बंसलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सोमबार भेटेर उक्त रकम प्रदान गर्नुभएको हो ।
आर्थिक सहयोगसँगै पतञ्जलि नेपालले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भोजनको व्यवस्थासमेत गरिरहेको छ । पतञ्जलि नेपालका डा. सुवेदीका अनुसार पाँच स्थानमा बाढी पीडितका साथै खोज तथा उद्धारमा खटिएका व्यक्तिलाई बिहान र बेलुका निःशुल्क भोजन उपलब्ध गराइएको छ । पतञ्जलिले क्रियापुत्री भवन रावलधारा, आयुर्वेद केन्द्र देवीघाट, विदुर बजार, सिम रिमाल डाँडा र तुप्चेमा निःशुल्क भोजनको व्यवस्था गरिरहेको युवराज सुवेदीले जानकारी दिनुभयो । पतञ्जलि नेपालले विभिन्न समयमा यसप्रकारका सामाजिक तथा मानवीय कार्यहरुमा अग्रसर भएर महत्वपूर्ण भूमिका खेल्दै आईरहेको छ ।





