वालिङ, ११ भदौ ।
भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवन जिल्लाका विभिन्न तटिय क्षेत्रहरूमा भएको अपूरणीय क्षतिप्रति भीरकोट नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । भीरकोट नगरपालिकाको १४७ औँ कार्यपालिका बैठकले उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
साथै, घाइतेहरूको तत्काल उद्धार र उपचार, सम्पर्कविहीनहरूको खोजीकार्य तथा प्रभावित क्षेत्रमा सुरक्षा र राहतको व्यवस्थापन कार्यलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको दैवी प्रकोप उद्धार कोषमा आर्थिक रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
यसरी उपलब्ध गराइने सहयोग अन्तर्गत नगरपालिकाको संस्थागत तर्फबाट रु. ५,००,००० (पाँच लाख), जनप्रतिनिधिहरूको सेवा सुविधाबाट रु. २,००,००० (दुई लाख) र नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूले खाइपाइ आएको ५ दिन बराबरको तलब सुविधा बापत हुन आउने रकम सहयोग गर्ने निर्णय भएको छ । आपतकालीन विपद्को यस कठिन घडीमा पीडितहरूको उद्धार र राहतका लागि स्थानीय सरकार र यससँग आबद्ध सबै पक्षबाट भएको यो संयुक्त प्रयासले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





