वालिङ, ३० असार । स्याङ्जा जिल्लामा यस वर्षको असार अन्तिमसम्म झन्डै ७० प्रतिशत धान रोपाइँ सकिएको छ। जिल्लाभर धान खेती हुने कुल १६ हजार हेक्टर क्षेत्रफलमध्ये सोमबारसम्ममा उक्त परिमाणमा रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्लाका ११ वटा पालिकाहरूमध्ये फेँदिखोला, आँधीखोला, अर्जुनचौपारी र पुतलीबजार क्षेत्रमा रोपाइँको रफ्तार उच्च छ। यी क्षेत्रहरूमा हालसम्म ८० प्रतिशतभन्दा बढी रोपाइँ सकिइसकेको छ। तुलनात्मक रूपमा यी भेगहरूमा अलि चाँडै रोपाइँ सुरु हुने गर्दछ। यसको विपरीत गल्याङ र चापाकोट क्षेत्रमा भने साउन महिनाको अन्तिमसम्मै रोपाइँ गरिन्छ ।
बजारमा विभिन्न थरीका वर्णशङ्कर (हाइब्रिड) जातका धानका बीउहरू उपलब्ध भए पनि स्याङ्जाका अधिकांश किसानहरूले उन्नत र स्थानीय (रैथाने)जातका धानलाई नै प्राथमिकता दिँदै आएका छन्। हाइब्रिड धानमा छिट्टै रोग तथा किराको प्रकोप देखिने र लगानी जोखिममा पर्ने भएकाले किसानहरू उन्नत जाततर्फ आकर्षित भएका हुन्। यहाँका खेतहरूमा सावित्री, रामधान, र सुनौलो सुगन्धजस्ता उन्नत जातका साथै परम्परागत एवं रैथाने प्रकृतिका अनदी र काला नामक जातका धानहरू लगाउने गरिएको छ।
स्याङ्जाका विभिन्न नदी किनारका फाँट र टारहरू धान खेतीका लागि निकै उर्वर मानिन्छन्। विशेष गरी आँधीखोला, कालीगण्डकी र ज्याग्दीखोलाका किनाराहरू, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङ, सेतीदोभान र बिरुवा फाँटहरूमा तराईका समथर भूभागमा जस्तै प्रचुर मात्रामा धान उत्पादन हुने गर्दछ।
यसका साथै दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार, वालिङ, मल्यांकोट, चिन्नेवास, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभञ्ज्याङ र जगतभञ्ज्याङ लगायतका क्षेत्रहरू पनि स्याङ्जाका प्रमुख धान उत्पादक पकेट क्षेत्रका रूपमा चिनिन्छन्।





