वालिङ, २३ जेठ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जाको १५औं वार्षिक साधारण सभा स्याङ्जाको आँधिखोला गाउँपालिका १ महाजुभञ्याङमा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले समाजको रूपान्तरण र सुशासनका लागि पत्रकारिता जगतको भूमिका अपरिहार्य रहेको बताउनुभयो । सम्बोधनका क्रममा उहाँले भन्नुभयो— “पत्रकारहरू समाजका ऐना हुन्। राज्य र समाजका हरेक कुना–कन्दरामा रहेका आवाजविहीन नागरिकहरूको आवाज बनेर पत्रकारिताले न्यायको पक्षमा वकालत गर्नुपर्छ।”
अध्यक्ष पौडेलले विकास निर्माणका सकारात्मक कार्यहरूलाई उजागर गर्दै देश विकासमा खटिने नवप्रवर्तक र अभियन्ताहरूलाई उत्प्रेरणा प्रदान गर्न सञ्चार माध्यमले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो।
समाज तथा राष्ट्रहित विपरीत हुने जुनसुकै गतिविधि, भ्रष्टाचार र अनियमितता विरुद्ध पत्रकारहरूले सदैव कलमको बलियो खबरदारी गर्नुपर्ने अध्यक्ष पौडेलको भनाइ थियो । “नकारात्मक तत्व र गलत प्रवृत्तिका अगाडि पत्रकारको कलम कहिल्यै झुक्नु हुँदैन,“ उहाँले भन्नुभयो, “यदि कतै राष्ट्रहित विपरीतका काम हुन्छन् भने त्यहाँ पत्रकारले निर्भीकताका साथ खबरदारी गर्नुपर्छ ।”
स्थानीय सरकार सञ्चार जगत्सँग सधैँ हातेमालो गरेर अगाडि बढ्न तयार रहेको स्पष्ट पार्दै अध्यक्ष पौडेलले आगामी दिनहरूमा स्थानीय तह र पत्रकार महासंघबीच बलियो सहकार्य हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो— “आगामी दिनमा हामी पत्रकारहरूको पेसागत मर्यादा र क्षमता विकासका लागि विभिन्न तालिम तथा प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्न सहकार्य गर्नेछौँ। सञ्चार क्षेत्र सबल र सक्षम भए मात्र स्थानीय सरकार झन् बढी जवाफदेही बन्न सक्छ।“
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य भुपराज बस्याल, महासंघका पुर्व अध्यक्षहरु ओमप्रकाश शर्मा, प्रकाश डोटेल र श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस युनियन जिल्ला सभापति तोलाकान्त बगाले, प्रेस चौतारी जिल्ला अध्यक्ष मणिप्रसाद अर्याल, पे्रस सेन्टर जिल्ला अध्यक्ष केपि खनाल, जनपत्रकार संगठनका जिल्ला अध्यक्ष ध्रुव गौडेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्याङ्जाको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएका महासंघका पूर्व अध्यक्षत्रय ओमप्रकाश शर्मा, प्रकाश डोटेल र श्रीकृष्ण सिग्देललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जाका पदाधिकारी, कार्यसमिति सदस्य तथा जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको साधारण सभामा पत्रकारिता क्षेत्रका समसामयिक चुनौती र भावी कार्यदिशाबारे समेत छलफल भएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष प्रदिप कोईरालाले महासंघको वार्शिक कार्यक्रम तथा आगामी योजनाको विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव शुसिल सुवेदी र स्वागत वरिष्ठ उपाध्यक्ष माधव गैह्रेले गर्नुभएको थियो ।





