डेंगी रोकथामका लागी भीरकोटको सक्रियताः सचेतना र सरसफाई अभियान

0
21
Google search engine

आरती कुँवर
वालिङ, ५ जेठ ।
गर्मी मौसमको सुरुवातसँगै फैलिन सक्ने डेंगी लगायतका किटजन्य रोगहरूको रोकथामका लागि स्याङ्जाको भीरकोट नगरपालिकाले सक्रियता बढाएको छ । यसै सन्दर्भमा नगरपालिकाको आयोजनामा डेंगी नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि सचेतना एवम् सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भीरकोट नगरपालिका वडा नम्बर १ मा आयोजित उक्त कार्यक्रममा स्थानीय नागरिकहरूलाई डेंगी रोगको लक्षण, यसको सर्ने प्रक्रिया र बच्ने उपायहरूका बारेमा विस्तृत रूपमा जानकारी गराइएको थियो ।
डेंगी फैलाउने लामखुट्टेको वृद्धि विकास रोक्न समुदायको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा केन्द्रित सचेतना कार्यक्रम लगतै वडा नं. १ र २ का विभिन्न बजार क्षेत्रहरूमा स्थलगत सरसफाई अभियान समेत संचालन गरिएको थियो । जनप्रतिनिधि, कर्मचारी, आमा समुह, युवा क्लब, विभिन्न संघसंस्था एवम् स्थानीयहरूको सक्रियतामा बजार क्षेत्रका विभिन्न स्थानहरूमा पुगेर सरसफाई गरिएको थियो । टोलीले पानी जम्न सक्ने सम्भावित ठाउँहरू, पुराना टायर, खाली डिब्बाहरू र खाल्डोहरू पहिचान गरी लामखुट्टेको डिम्बा (लार्भा) नष्ट गरेको थियो ।

Google search engine


सचेतना कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाकी नगर उपप्रमुख भगवती रेग्मी अर्यालले गर्मीको समयमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको प्रकोप र जोखिम निकै बढ्ने भएकाले यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले डेंगीको जोखिम कम गर्ने सबैभन्दा प्रभावकारी र महत्वपूर्ण कडी नै सरसफाई भएको भन्दै आफ्नो घर, आँगन र वरपरको वातावरणलाई सफा सुग्घर राख्न आग्रह गर्नुभयो ।
उपप्रमुख रेग्मीले नगरबासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नै भीरकोटमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई अगाडि बढाइएको र यसलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रम वडा नं १ का वडा अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Google search engine