आरती कुँवर
वालिङ, ५ जेठ ।
स्याङ्जाका ३ पालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८२ मा ४ जी पिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेका छन् । जिल्लाको पुतलीबजार भीरकोट नगरपालिका र आँधीखोला गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पालिकामा ४ जीपीए प्राप्त गरेका विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेका हुन् । यसवर्षको एसईई परिक्षामा जिल्लाका ५ पालिकाका ११ जना विद्यार्थीहरुले ४ जीपीए ल्याएका थिए ।
सोमबार आँधीखोला गाउँपालिकाले एक कार्यक्रमकाबीच पालिकाभरीमा ४ जीपीए प्राप्त एकमात्र छात्रा शारदा माध्यमिक विद्यालयकी मनिषा ढकाललाई एकलाख चेक सहित सम्मानपत्रले सम्मानित गरेको गाउँपालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो ।

यस्तै पुतलीबजार नगरपालिकाले ४ जिपिए ल्याउने त्रिभुवन आर्दश माविका आयुष्मा ढकाल, अनिशा रेग्मी र शश्रिक दोरंगा, रोशनी आवासीय माविका प्रसनमान श्रेष्ठ, स्याङ्जा उच्च माविका निश्चल तिवारीलाई नगद र प्रशंसापत्रले सम्मान गरेको हो । त्यसैगरी भीरकोट नगरपालिकाले ४ जीपीए प्राप्त गर्ने नितेश काफ्ले तथा ३.९१ जीपीए प्राप्त चाहाना केसीलाई नगद एवम् प्रशंसा पत्रले सम्मान गरेको छ ।

स्याङ्जाको पुतलीबजारका सबैभन्दा धेरै ५ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् भने वालिङ नगरपालिकाका ३, भीरकोट नगरपालिका, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकाका एक एक जना गरी ११ जना विद्यार्थीहरुले ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो ।
यसैबीच अर्जुनचौपारी गाउँपालिकाले आज मंगलबार एक कार्यक्रम मार्फत् एसईई परिक्षामा उत्तिर्ण सम्पुर्ण विद्यार्थीहरुलाई करिअर काउन्सिलीङ एवम् सम्मान गरिने पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।





