वालिङ २४, चैत ।
स्याङ्जाको वालिङ खेलमैदानमा आगामी बिहीबारबाट हुने प्रथम एक्स्पो पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । ओमकार ईभेन्टस हबको आयोजनामा विशेष गरी नेपाली नयाँ वर्षलाई लक्षित गरी एक्स्पो सुरु हुने भएको हो ।
नेपाली मौलिक कला, संस्कृति, संगीत, खेलकुद तथा परम्परागत खानाको संरक्षण, प्रवद्र्धन र विकास गर्दै स्थानयि कलाकार तथा उद्यमीहरुलाई सशक्त बनाउने र यसबाट संकलित रकमबाट वालिङ खेलमैदानको निर्माणमा प्रयोग गर्ने उद्देश्यसहित पर्व आयोजना गरिएको आयोजक ओमकार ईभेन्टस हबका अध्यक्ष बिजय मल्लले जानकारी दिनुभयो ।
“हामीले अंग्रेजी नयाँ वर्षलाई महत्व दिएर पोखरा लगायतका ठुला शहरहरुमा आयोजना हुने मेलाहरुमा पुग्ने गर्छौं” उहाँले भन्नुभयो, “हाम्रो नेपाली नयाँ वर्षमा पनि आफ्नै गाउँ ठाउँको पहिचान झल्कने, कला संस्कृति, हाम्रा रीतिरिवाज, मौलिकतालाई प्राथमिकतामा राख्दै गर्न सकिने संभावना देखेर एक्स्पो थालेका हौं ।”
चैत २६ गतेबाट सुरु भई बैशाख २ गतेसम्म हुने एक्स्पोको तयारीमा समितिसहित विभिन्न उपसमितिहरुले आ–आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएका उहाँले बताउनुभयो ।
मेलामा औद्योगिक व्यापार पर्व, सांस्कृतिक कार्यक्रम, टिकटक प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुतिहरु, कृषि प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, अदुवा तथा जडिबुटी प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक सामग्री प्रदर्शनी तथा खेलकुद, बाल उद्यान, अटोमोबाईल्स, पर्यटन मेला, हस्तकलाका सामग्रीहरुको प्रदर्शनी लगायत रहने छन् ।





