स्याङ्जाको पुर्णामृत माविमा केरा खेती सुरु

0
133
Google search engine

वालिङ, १० चैत ।
स्याङ्जाको पूर्णामृत भवानी माविले केराखेती सुरु गरेको छ । वालिङ १० फूलबारीमा रहेको पूर्णामृत भवानी माध्यमिक विद्यालयले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गर्दै केरा खेती सुरु गरेको हो । विद्यालयले विद्यालय परिसरमै आफ्नै स्वामित्वमा रहेको करिव १० रोपनी जग्गामा ‘जी नाईन’ जातको केराका बेर्ना लगाएको हो ।

Google search engine

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जा प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम अन्तर्गत केरा खेतीको थालनी गरिएको विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले बताउनुभयो ।

जिल्लाकै नमूना विद्यालयकोरुपमा रहेको यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम साथै कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान विषयका विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराउनका लागि केरा खेति सुरु गरेको उहाँको भनाई छ ।

व्यावसायिक केरा खेती कार्यक्रमकालागि कार्यालयको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत लागत साझेदारी रहेको छ । कार्यालयकातर्फबाट रु. तीन लाख ९५ हजार ७१० र विद्यालयकोतर्फबाट एक लाख ६९ हजार ५९० गरी कूल पाँच लाख ६५ हजार ३०० को लागत लागेको छ ।

स्थानीय बजारमा केराको माग अत्याधिक रहेको हुँदा पनि यहाँ उत्पादन भएको केराको बजारीकरणमा कुनै समस्या नहुने उहाँले बताउनुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजाकोरुपमा पनि केराका विभिन्न परिकार बनाएर खुवाउन सकिने भएको हो ।

विद्यालयले चितवनबाट एक हजार केराका बेर्ना ल्याएर लगाएको छ । माटो परीक्षण गर्दा केरा खेतीकालागि उपयुक्त हुने र हावापानीले पनि साथ दिने भएकाले केरा खेती सुरु गरेको विद्यालय कृषि विषय शिक्षक गोविन्द गैह«ेले जानकारी दिनुभयो ।

केरा खेती प्रविधिकाबारेमा विद्यार्थीलाई बारीमै लगेर प्रयोगात्मक विधिकाबारेमा जानकारी दिन सकिने हुन्छ जुन सिकाई क्रियाकलापमा दीगो र प्रभावकारी हुने दावी शिक्षक गैह«ेको छ ।

नमूनाकोरुपमा रहेको यस सामुदायिक विद्यालयको जग्गा जमिन प्रशस्तै रहेकाले अन्य बाँझो रहेका जमिनको पनि सही सदुपयोग गर्ने योजनासहित विद्यालय अगाडि बढेको छ । यसअघि विद्यालय परिसरमै तरकारी उत्पादन, च्याउ उत्पादन, गड्यौले मल उत्पादनजस्ता कृषिसम्बन्धीका गतिविधिहरु भईसकेका छन् ।

विद्यालय परिसरमै व्यावसायिकरुपमा कागती लगाउने तयारी भईरहेको छ । केरा खेतीको सुरुआत गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले पढ्दै कमाउँदै कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्दै जाने बताउनुभयो ।

Google search engine