ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न स्याङ्जाका मुख्य बजारमा प्रशासनको अनुगमन

0
214
Google search engine

आरती कुँवर, वालिङ, २७ फागुन ।
बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने र कालोबजारी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्याङ्जाका विभिन्न व्यापारिक केन्द्रहरूमा बुधबार  बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सक्रियतामा जिल्लाका प्रमुख बजारहरूमा रहेका ग्यास डिलर तथा पसलहरूको अवस्थाबारे निरीक्षण गरिएको हो।

Google search engine

जिल्लाका पुतलीबजार, राङ्खोला, बयरघारी, वालिङ, गल्याङलगायतका मुख्य बजारहरूमा विशेष निगरानी बढाएको हो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा खटिएको एकीकृत टोलीले बुधबार दिनभर ग्यास वितरणको अवस्था, मौज्दात र मूल्यका विषयमा स्थलगत जाँच गरेको थियो।

अनुगमनका क्रममा टोलीले ग्यास सिलिन्डरको परिमाण, तोकिएको तौल भए नभएको र बिक्री वितरण गर्दा अनिवार्य रूपमा बिलबिजक जारी गरिएको छ कि छैन भन्ने विषयमा सुक्ष्म अनुसन्धान गरेको थियो। सो क्रममा नियमविपरीत कारोबार गर्ने र प्रक्रिया नपुर्‍याएका केही ग्यास डिलरलाई तत्कालै जरिवाना गरिएको छ भने अन्यलाई व्यापारिक आचारसंहिता पालना गर्न निर्देशन दिँदै सचेत गराइएको छ।

अनुगमन टोलीमा एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक निरीक्षक भिम बहादुर भण्डारी मगर, जिल्ला प्रशासन कार्यालयका लेखापाल रमेश विक र नायब सुब्बा बुद्धि प्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो।

अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लामा खाना पकाउने ग्यासको कुनै पनि अभाव नरहेको र अनावश्यक रूपमा स्टक राखेर अभाव देखाउन खोज्नेलाई कडा कारबाही गरिने बताउनुभयो । उहाँले उपभोक्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राखि बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा महँगोमा बेच्ने जस्ता गैरकानुनी कार्य रोक्न प्रशासनले नियमित रूपमा अनुगमन जारी राख्ने बताउनुभयो ।

Google search engine