वालिङ १६, फागुन ।
भारतीय सैनिक बोर्डका उच्च अधिकारीहरु र जिल्ला सैनिक बोर्ड (डिएसबी) वालिङ अन्तर्गतका भूपू भारतीय सैनिकहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा भारतीय सैनिक बोर्डका रक्षा सहचरी कर्नेल भी. सुप्रमणियम तथा ओआईसी पोखराका लेप्टेन कर्नेल चीतारञ्जन साहुले भूतपूर्व भारतीय सैनिक तथा उनीहरुको परिवार आईपरेका समस्याहरु र तिनको समाधानसहित अन्य विविध विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको हो ।

भूतपूर्व सैनिकहरुसँगको अन्तरक्रियात्मक कार्यक्रममा बोल्नुहुँदै उहाँहरुले नेपाल र भारत दुई देशबीच गहिरो र पुरानो सम्बन्ध रहेको बताउँदै गोर्खा सैनिकले देखाएको अनुशासन, कडा मेहेनत, सामूहिकता, कामप्रतिको लगनशीलताकाकारण संसारभर छुट्टै पहिचान कमाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला सैनिक बोर्ड वालिङकातर्फबाट डिएसबी सेक्रेटरी हनेरी सुबेदार मेजर नरबहादुर पुनले जिल्ला सैनिक बोर्ड वालिङबाट भएका गतिविधिहरुकाबारेमा जानकारी गराउनुभएको थियो । भूतपूर्व भारतीय सैनिकमा कार्यरत भूपू सैनिक तथा उनीहरुलाई परिवारलाई लक्षित गरी पेन्सन वितरण तथा निशुल्क स्वास्थ्य जाँच एवम् निशुल्क औषधि वितरण गरिएको थियो ।

फागुन १२ गते पर्वतको हातेमालो चोक र स्याङ्जाको मिर्मीमा र फागुन १३ देखि १५ गतेसम्म जिल्ला सैनिक बोर्ड वालिङ पेन्सन तथा निशुल्क स्वास्थ्य जाँच र निशुल्क औषधि वितरण गरिएको थियो ।
कार्यक्रममा भूपू सैनिक विकास एवम् कल्याणकारी संघ जिल्ला सैनिक बोर्ड वालिङका अध्यक्ष दीपेन्द्र खाँणले भूतपूर्व सैनिक तथा उहाँहरुका परिवारले उठाएका विषयहरु उहाँहरुले राम्रोसँग बुझ्नुभएको हुँदा आगामी दिनमा देखिएका समस्याहरु समाधान हुँदै जाने विश्वास ब्यक्त गर्नुभयो ।

सो अवसरमा उहाँहरुले वालिङ खानेपानी तथा जिम्यास्टिक खेलकाबारेमा जानकारी लिनुभएको थियो । डिएसबी कार्यालय वालिङमा उपस्थित हुनुभएका भूतपूर्व सैनिक तथा वीर नारीहरुले अतिथिहरुलाई खादामाला तथा पुष्पगुच्छासहित स्वागत गर्नुभएको थियो ।








