बालबालिका समूहबीच पञ्चेबाजा प्रतियोगिता हुने,

0
156
Google search engine


वालिङ, ४ मंसिर ।
स्याङ्जामा यस वर्षको विश्व बालदिवसमा बालबालिकाहरुबीच पञ्चेबाजा प्रतियोगिता हुने भएको छ । एकिकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका बालबालिकाहरु सहभागि हुने भएका हुन् । बालबालिकाको अधिकार र बालबालिकाको आवाजलाई गायन र पञ्चेबाजाको संगित मार्फत् थप बुलन्द बनाउन र बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सहयोग होस् भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो ।
संस्कृतिको संरक्षण, परम्परागत सीपको पुस्तान्तरण, हाम्रो उत्सव, विवाह र चाडपर्वको लागि पञ्चेबाजा संरक्षणमा टेवा पुग्ने कार्यालयको विश्वास रहेको छ । स्याङ्जाका विभिन्न स्थानीय तहबाट हालसम्म १० टिमले प्रतियोगिताको लागि दर्ता गरेका कार्यालयले जनाएको छ ।
कक्षा एक देखि दशसम्म पढ्दै गरेका बालबालिका सहभागि हुने कार्यक्रममा विद्यालय, टोल, बालक्लब , वडा, पालिका स्तरीय जुनसकै समूह निर्माण गर्न सकिनेछ भने बालअधिकार सम्बन्धी शब्द समावेश गरी गीत गाएर बाजाको संगीत बजाउनेलाई मूल्यांकनमा प्राथामिकता दिइने कार्यालयले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवनालाई क्रमशः १५ हजार, १० हजार, ७ हजार, ४ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ ।
साथै उक्त कार्यक्रममा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई सबैभन्दा उत्कृष्ट बजाउनेलाई समेत पुरस्कार प्रदान गरिने छ । यस्तै कार्यक्रममा चर्चित लोकदोहोरी गायक लोकनाथ सापकोटा लगायतका कलाकारहरुको समेत प्रस्तुति रहने छ । जिल्ला बाल अधिकार समिति र जिल्ला बालसञ्जालको सहयोग र समन्वयमा हुने कार्यक्रम मंसिर ५ गते भुपू सैनिक आवासिय माध्यमिक विद्यालयको प्राङ्गणमा हुने छ ।

Google search engine
Google search engine