वालिङ, १२ असोज ।
गरिमा विकास बैंक वालिङ, शाखाका प्रमुख प्रेम नारायण अर्यालको पहिलो सांगीतिक कोसेली ख्याली (रोइला) को छायांकन गरिएको छ । स्याङ्जाको ऐतिहासिक स्थल वालिङ, ११ पेखुमा सोमबार अर्यालको गीतको छायांकन गरिएको हो । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ११, बगालथोकमा जन्मिनुभएका अर्यालले लामो समयको अथक मेहनत र प्रयासले पहिलो गीति प्रस्तुति ख्याली मार्फत नेपाली सांगीतिक क्षेत्रमा पाइला राख्नुभएको छ ।

नेपालीहरुको पुरानो संस्कार, संस्कृति, विशेषगरी स्वस्थानी पूजाको महत्वलाई रक्षा गर्ने र गाउँघरको पुरानो मौलिक जीवनशैलीको झल्को दिने उदेश्यले यो गीत तयार पारिएको अर्यालले बताउनुभयो । स्कुले जीवनदेखी नै संगीतका क्षेत्रमा रुचि राख्दै आउनुभएका अर्यालले लामो समयदेखी स्याङ्जाको परिवेशलाई नियाल्दै शब्द सिर्जना गर्नुभएको थियो । पहिले हाम्रो समाजमा हुने गरेका कुराहरुलाई संगीतका माध्यमबाट पुस्तान्तरण गर्ने उदेश्यसहित संगीत क्षेत्रमा पनि पाइला राखेको उहाँले बताउनुभयो ।
उहाँले ल्याउन लाग्नुभएको रोइला कुनै समस्या सिर्जना नभएमा यही कार्तिक २५ गते भित्रसम्ममा बजारमा आउने अर्यालले बताउनुभयो । उहाँको आफ्नै शब्द सिर्जना रहेको रोइलामा उहाँ स्वयंले र गायिका रिना केसीले आवाज भर्नुभएको छ । उक्त गीत बजारमा ल्याउनका लागी गायक बुद्धि सागर बस्याल र घनश्याम रिजालले साथ दिनुभएको छ भने गीत घनश्याम रिजालको युट्युब च्यानलबाट बजारमा आउने छ ।

यस सांगीतिक कोसेलीलाई दर्शक स्रोताको साथ, सहयोग र माया पाएमा अन्य सांगीतिक कोसेली पनि ल्याउने अर्यालले बताउनुभयो । बैकिङ क्षेत्रमा करिब १३ वर्षको लामो यात्रामा अनुभव संगाल्नुभएका अर्यालले ख्याली गीतमा माया पिरती आभास दिलाउने शब्द समेत समावेश गर्नुभएको छ । वालिङ, ११ पेखु र वालिङ, ९ सुर्कोदी गरी दुई ठाउँमा छायांकन गरिएको यस गीतमा जेरी भण्डारी (गणेश) र अस्मिता रणपालले अभिनय गर्नुभएको छ ।





