वालिङ, २४ भाद्र ।
स्याङ्जाको वालिङमा समेत जेन जि समुहले प्रर्दशन गरेका छन् । नयाँयुवापुस्ता २८ वर्ष उमेरमुनिका युवाहरुको समुहले देशभरका विभिन्न शहरहरुमा आन्दोलन गरेका थिए । यता वालिङमा पनि जेन जि समुहका युवाहरुले प्रर्दशन गरेका हुन ।सामाजिक संजाल बन्द, भ्रष्ट्राचार र बेतिथिका विरुद्धमा युवाहरु सडकमा उत्रिएका थिए । युवाहरुले भ्रष्ट्राचार विरुद्ध नाराबाजी गरेका थिए । मोटरसाईकल तथा स्कुटरको ¥यालीले वालिङ बजार परिक्रमा गर्दै भ्रष्टाचार, बेथिति र सरकारका विरुद्ध नाराबाजी गरेका थिए । यसैबीच स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले जेनजि आन्दोलनमा घाईतेको उपचारका लागी ५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार गाउँपालिका अध्यक्ष प्रकाश तिवारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जेन जि आन्दोलनमाथि भएको दमन र आक्रामणप्रति गहिरो चिन्ता, आक्रोस र दुख प्रकट गरेकोे छ । लोकतान्त्रिक मुल्य र मान्यताका आधारमा जेन जि पुस्ता र नागरिकहरुले आफ्ना आवाजहरु शान्तिपुर्ण रुपमा उठाउने अधिकारलाई दबाउने जुनसुकै प्रयास स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनमा सहभागि नागरिकहरुमाथि गरिएको बल प्रयोग, दमन र अवरोधले राज्यप्रतिको विश्वासलाई गम्भीर रुपमा खल्बल्याएको भनिएको छ । साथै उक्त घटनामा गम्भीर घाईते भएकाप्रति सहानुभुति प्रकट गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनमा अमुल्य ज्यान गुमाउने युवाप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । आन्दोलनमा घाईते भएकाहरुको उपचार तथा मृतकका परिवारको राहतका लागी पालिकाले स्थापना गरेको सामाजिक उत्तरदायित्व कोषबाट ५ लाख सहयोग प्रदान गर्ने र अन्य आवश्यक परेमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । साथै पालिकाले सरकारप्रति ५ बुँदे माग राखेको छ ।
आन्दोलनका क्रममा भएका सबै घटनाको तत्काल, निष्पक्ष र स्वतन्त्र छानविन गर्न, दोषीहरुलाई कानुनी दायरामा ल्याई पिडितलाई न्याय दिन, घाईतेहरुको उपचार र पुर्नस्थापनाको जिम्मा राज्यले लिन र नागरिकको शान्तिपुर्ण आन्दोलनमाथि बल प्रयोग अन्त्य गर्न माग गरिएको छ । हिजो देशव्यापी रुपमा भएको ’जेन जी’ प्रर्दशनले उग्र रुप लिएको थियो । प्रदर्शनका क्रममा गोली लागेर १९ जनाको ज्यान गएको छ भने झन्डै चार सय भन्दा बढी घाइते भएका थिए । घाइतेहरुको काठमाण्डौका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।





