अर्जुनचौपारीका लाभग्राहीलाई पोखरामा घुम्ती शिविर

0
224
Google search engine

वालिङ, २९ साउन ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले लाभग्राहीहरुलाई लक्षित गरी पोखरामा घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले पोखरा सेरोफेरोमा बस्दै आएका लाभग्राहीलाई लक्षित गरी चार दिने सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरेसँगै गाउँपालिका तथा वडा कार्यालयसम्म आउनुपर्ने बाध्यता हटेर लाभग्राहीलाई सहज भएको हो । पालिकाभित्रका नागरिकहरु जहाँ बसेपनि सेवा पाउनुपर्छ भन्ने उद्देश्यले पालिकाले पोखरामा चार दिने सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।

Google search engine

“रोजगारी, शिक्षा, स्वास्थ्य लगायतको खोजीमा गाउँबाट सहर केन्द्रीत हुने दर बढ्दै जाँदा गाउँघरहरु रित्तिदै गएका छन्” उहाँले भन्नुभयो, “अवसरको खोजीमा सहर केन्द्रीत हुँदै जाँदा गाउँमा रहेका घर, जग्गा जमिनहरु खण्डहर र बाँझै हुन पुगेका छन्, कामको सिलसिलामा सहर बसेपनि बसाईँसराईँ गाउँमै होस् भन्ने उद्देश्यले लाभग्राहीको सहजताकालागि घुम्ती शिविर सञ्चालन गरिएको हो ।”

वडा कार्यालय तथा गाउँपालिका कार्यालयमा बसाईँसराईँको प्रमाणपत्र लिन आउने लाभग्राहीहरुलाई परामर्श गर्ने क्रममा बसाई एकातिर नवीकरण अर्कोतिर गर्न आउन पर्दा झण्झटिलो भएको भन्ने गुनासो आएकाले उहाँहरुलाई सम्बन्धित ठाउँमै पुगेर गाउँपालिकाले शिविर सञ्चालन गरेको हो ।

गाउँपालिकाले सम्बन्धित वडा अध्यक्षसहित पञ्जीकरण शाखाका कर्मचारीहरुसहित मंगलबारबाट सेवा आरम्भ गरेको हो । आगामी शुक्रबारसम्म सञ्चालन हुने शिविरमा गाउँपालिकाका ६ वटा वडाका लाभग्राहीलाई छुट्टाछुट्टै दिन सेवा दिईने भएको हो । गाउँपालिकाले पृथ्वीचोकस्थित दीपज्योति होटलबाट बिहान ७ देखि बेलुका ७ बजेसम्म सेवा दिने भएको हो ।

“गाउँपालिकाभित्रका अपायकमा रहेका टोलका लाभग्राहीले अर्को वडाको पायक पर्ने ठाउँबाट पनि सेवा लिन सक्ने गरी ब्यवस्था मिलाएका छौं” उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा प्राप्त गर्ने विभिन्न प्रकृतिका लाभग्राहीहरु कोही पनि नछुटुन् सहज तरिकाले सेवा लिन पाउन भन्ने ध्यय पालिकाको हो ।” पोखरामा सञ्चालन हुने शिविरमा तीन सय भन्दा बढी लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण हुने दावी उहाँको छ ।

अर्जुनचौपारी गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीहरु धेरै भएका स्थानहरुमा शिविर सञ्चालन गरेर सेवा दिने अभियान अन्तर्गत अहिले काठमाडौंमा रहनुभएका लाभग्राहीहरुकाबारेमा सरोकारवालाहरुसँग छलफल भईरहेकाले ठुलै संख्या लाभान्वित हुने भएमा त्यहाँ पनि शिविर सञ्चालन गर्छाैं तर त्यसकालागि औचित्य पुष्टि हुनुपर्ने उहाँको धारणा छ ।

Google search engine