स्याङ्जामा साउनको दोस्रो सातासम्म ८३ प्रतिशत धान रोपाई

0
306
Google search engine

वालिङ, १३ साउन ।
स्याङ्जामा हालसम्म ८३ प्रतिशत क्षेत्रफलमा धान रोपाई सकिएको छ । धान रोपाई हुने १४ हजार ३९० क्षेत्रफलमध्ये ८३ प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो । स्याङ्जाका उत्तरी भेगका पालिकाहरुमा धान रोपाई करीव करीव सकिएपनि दक्षिण पश्चिमी भेगका पालिकाहरुमा रोपाई हुन बाँकी रहेको हो ।
११ पालिका रहेको स्याङ्जामा फेँदिखोला र अर्जुनचौपारी गाउँपालिकामा ९८÷९८ प्रतिशत, आँधीखोला गाउँपालिकामा ९७ प्रतिशत, पुतलीबजार नगरपालिकामा ९५, भीरकोट नगरपालिका र हरिनास गाउँपालिकामा ८५÷८५ प्रतिशत, वालिङ, गल्याङ नगरपालिका र विरुव गाउँपालिकामा ८०÷८० प्रतिशत, कालिगण्डकी गाउँपालिकामा ७५ प्रतिशत रोपाइँ सकिएको प्रमुख हमालले बताउनुभयो ।
सबैभन्दा कम चापाकोट नगरपालिकामा ७० प्रतिशत रोपाईँ सकिएको छ । यो वर्ष असार र साउनको अहिलेसम्म पर्याप्त वर्षा नभएका कारण गत वर्षको तुलनामा कम प्रतिशत रोपाई भएको हमालले बताउनुभयो ।
मुल फुट्ने गरी वर्षा नहुँदा आकाशे पानीको भरमा धान रोपाईँ गर्नेहरु प्रभावित भएका छन् । ८०० मिटर भन्दा बढी उचाई भएका क्षेत्रफलहरुमा अब रोपाइँ गर्दा उत्पादन कम हुँने तर ८०० मिटर भन्दा कम उचाई भएका तल्लो बेल्टहरुमा साउनको १८ गतेसम्म पनि रोपाइँ गर्दा उत्पादनमा ह्रास नआउने प्रमुख हमालले बताउनुभयो । चापाकोट, गल्याङ, वालिङ, कालीगण्डकी जस्ता तल्लो बेल्टहरुमा अझै पनि रोपाइँ जारी रहेको छ । रोपाइँ क्षेत्रफल कम भएपनि उत्पादनमा भने कमी नआउँने केन्द्रका प्रमुख हमालले बताउनुभयो । यो वर्ष सरदर ९० प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।
स्याङ्जा जिल्लाका चापाकोट टार, जिमूहा, पकान, डौंवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेबाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धान खेतीका दृष्टिले पकेट क्षेत्र हुन् । पछिल्लो समय उन्नत जातका धानहरु लगाउने प्रचलन बढेको छ ।
विशेषगरी रामधान, साबित्री, सुनौलो सुगन्ध, सामा मन्सुली सव १ जस्ता उन्नत धान लगाउने गरेका छन् । हाईब्रिडतर्फ युएस ३१२, च्याम्पियन लगायतका धानहरु किसानले लगाएका छन् । पछिल्लो समय स्याङ्जा जिल्लाका विभिन्न भागहरुमा बढ्दो बजारीकरणसँगै सडक तथा घर घडेरी बनाउने कार्यले खेतियोग्य जमिन नासिँदै गएको छ । विगतका वर्षहरुमा रोपाईं भएको क्षेत्रफलहरु क्रमशः घट्दै गएको छ ।

Google search engine
Google search engine