वालिङ, २८ वैशाख ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्लाका विभिन्न स्थानिय तहका बालबालिका बीच सिर्जनात्मक लेखन प्रतियोगिताको सुरुवात गरेको छ । कार्यालयले आइतबार विरुवा गाउँपालिकाका भित्रका विद्यालयका विद्यार्थीहरु बीच सो प्रतियोगिता आयोजना गर्दा दिव्यप्रकाश मा.वि.की छात्रा रन्जिता पोखरेल ले प्रथम स्थान र जनप्रिय मा.वि. अम्बिका लम्सालले द्धितीय स्थान हासिल गरेकी छन् भने बराबर अंक प्राप्त गरी तीन जना बिद्यार्थीहरुले तृतीय स्थान हासिल गरेका छन् जसमध्ये जामुनेडाँडा मा.वि.का आदेश थापा, अरनीको मा.वि. का कृष्मा थापा र किचनास आ.वि. का रोजि भुजेल रहनु भएको छ ।
बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरुसमक्ष पुऱ्याउन, तार्किक क्षमताको विकास गर्न र बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रम समावेश गरिएको सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले बताउनु भयो । विद्यालयले छनौट गरेका विद्यार्थीहरु बीच स्याङ्जाको ११ वटै स्थानीय तहमा प्रतिस्पर्धा हुनेछ र प्रत्येक पालिकाबाट छनौट भएका उत्कृट तीन भित्र पर्न सफल विद्यार्थीहरु बीच जिल्लास्तरीय प्रतिस्पर्धा हुनेछ । सबै स्थानीय तह र जिल्लामा हुने प्रतियोगिताको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा समाजिक विकास कार्यालय स्याङ्जाले नै गर्ने भएको छ ।





