आरती कुँवर
वालिङ, २८ वैशाख ।
स्याङ्जाको विरुवा गाउँपालिकामा लैङ्गिक समानता प्राप्तिको लागि हामी संगसंगै भन्ने नारा सहित नेतृत्व विकास तालीम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा विरुवा गाउँपालिकाको समन्वयमा विरुवा गाउँपालिकाका ८ वडाका एकल महिलाहरुको नेतृत्व विकासका लागि विरुवा गाउँपालिका हलमा आइतबार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै विरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरले महिलाहरुको लागि पालिकाले विभिन्न सिपमुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको भन्दै एकल महिलाहरुको शसक्तिकरणका लागि यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो । आगामी दिनमा समेत महिलाहरुको आवश्यकता र चाहानाअनुसारका कार्यक्रम गर्न प्रतिवद्व रहेको र पालिकाले गर्न सक्ने काम गर्ने तथा अन्य निकायसँग समन्वय गरेर पनि अगाडि बढ्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

कार्यक्रममा महिला शसक्तिकरण सम्बन्धि रेडियो आँधिखोला एफएमका अध्यक्ष शान्ता थापाले र सकारात्मक सोच सम्बन्धि रेडियो स्याङ्जा एफएमका प्रमुख व्यवस्थापक रमेश गोदारले सहजीकरण गर्नु भएको थियो । यस्तै एकल महिलाको अधिकार र कानुनी व्यवस्था र चुनौतीका बारे सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले प्रकाश पार्नुभएको थियो । एकल महिला तथा आमाहरुको लागि आमा सम्बन्धि लेख नेपाल पत्रकार महासंघ स्याङ्जा शाखा सदस्य तथा सञ्चारकर्मी आरती कुँवरले प्रस्तुत गर्नुभएको थियो ।



कार्यक्रम सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन विरुवा गाउँपालिकाको सामाजिक विकास शाखा प्रमुख आरती पुनले गर्नुभएको थियो । कार्यक्रममा २० जना एकल महिलाहरुको सहभागीता रहेको थियो ।






