वालिङ, १८ चैत ।
पत्रकार सुरेश रजकको हत्या र सञ्चार क्षेत्रमाथि भएको आक्रमणको बिरोधमा देशभरका पत्रकार महासंघले प्रमुख जिल्ला अधिकार मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । यही चैत्र १६ गते काठमाडौँको तिनकुनेमा भएको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार र पत्रकारिता क्षेत्र नै निसानामा परेको भन्दै महासंघका साखाहरुले ध्यानार्कषण सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
भिडियो खिच्ने क्रममा जलेर पत्रकार रजकको ज्यान गएको, अन्नपुर्ण दैनिकको कार्यालयमा आगो लगाई क्षति पुर्याईएको, कान्तिपुर मिडियाको भवनमा तोडफोड गरेको, हिमालयन टिभिको सवारीमा आगजनी गरेको, पत्रकार दिनेश गौतमको आक्रमणमा परि खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको घटनाप्रति महासंघ गम्भीर रहेको भन्दै प्रमुख जिल्ला अधिकार मार्फत नेपाल सरकार समक्ष हत्याको गहिरो अनुसन्धान गर्न माग गरिएको छ । साथै मृतक पत्रकारका परिवारलाई क्षतिपुर्ति दिन, क्षति पुगेका मिडिया हाउसहरुको क्षतिपुर्ति दिन र घाईतेको उचित उपचार गर्न समेत महासंघले माग गरेको छ ।

महासंघका जिल्ला अध्यक्ष प्रदिप कोईरालाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा विगतमा पनि पत्रकार र पत्रकारिता क्षेत्र विभिन्न आन्दोलनको सिकार बन्नुपरेको भन्दै राज्यको चौँथो अंगको रुपमा रहेको पत्रकारितालाई सुरक्षा दिन माग गर्दै यी मागहरु एकहप्ताभित्र सम्बोधन गर्न सरकारलाई समय दिईएको छ । दिईएको समयमा माग पुरा नभए देशभरीका पत्रकारहरुले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।





