सेवाप्रदायक संस्थामा दोभाषे आवश्यक ः प्रदेश सभा सदस्य थापा

0
152
Google search engine

वालिङ, १७ चैत ।
गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले सेवा प्रवाहलाई सबै नागरिकमैत्री बनाउन सेवाप्रदायक संस्थामा दोभाषेको व्यवस्था अनिवार्य रहेको बताउनुभएको छ। विशेषगरी बहिरा अपांगता भएका व्यक्तिहरू कानुनी समस्या परेका बेला प्रहरी कार्यालय वा अदालत पुग्दा सञ्चारमा असहज हुने भन्दै उहाँले सरकारी तथा अन्य सेवा प्रदायक निकायहरूमा दोभाषेको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभा सदस्य थापाले लैङ्गिक हिंसाको सन्दर्भमा सबैभन्दा बढी बहिरा अपांगता भएका महिलाहरू प्रभावित हुने बताउँदै प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा पनि उनीहरूलाई कठिनाइ हुने उल्लेख गर्नुभयो। “अपांगता भएका व्यक्तिहरूले आफूलाई परेको समस्या अभिव्यक्त गर्न पाउनुपर्छ, त्यसकै आधारमा समाधानतर्फ जान सकिन्छ,“ उहाँले भन्नुभयो ।
उहाँले अपांगता भएका व्यक्तिका हक, अधिकार र आवश्यकताका विषयमा प्रदेश सभामा निरन्तर आवाज उठाउँदै आएको र आगामी दिनमा उनीहरूका लागि मैत्रीपूर्ण कानून, नीति, कार्यक्रम तथा बजेट निर्माण गरी कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गण्डकी प्रदेश सरकारले अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न ऐन निर्माणको तयारी गरिरहेको जानकारी दिंदै, संघीयता अन्तर्गत तीनै तहका सरकारहरूको सहकार्य र समन्वयमा यस्ता कामको निरन्तरता आवश्यक रहेको उल्लेख गर्नुभयो।
यसैबीच, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले अपांगता भएका व्यक्तिहरूको सशक्तिकरण र सचेतनाका लागि लक्षित कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो।“अभिमुखिकरणमार्फत लक्षित समूहको जीवनमा सहजता ल्याउने हाम्रो उद्देश्य हो “ ।

Google search engine


स्याङ्जा बहिरा संघको आयोजनामा र सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा आयोजित दुईदिने अभिमुखिकरण कार्यक्रममा बहिरा अपांगता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्य, फौजदारी कानुन, अपराध अनुसन्धान, तथा बैङ्किङ प्रणालीबारे जानकारी दिइएको थियो । कार्यक्रमको सहजिकरण जनस्वास्थ्य अधिकृत अस्मिता भण्डारी, प्रहरी निरीक्षक प्रवेश तिवारी र राष्ट्रिय वाणिज्य बैंकका उपप्रबन्धक सुर्यकृष्ण चौलागाईंले गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता स्याङ्जा बहिरा संघका अध्यक्ष सञ्जीव श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य अपांगता विज्ञ युवराज पराजुली र अपांगता समाज स्याङ्जाका अध्यक्ष रामप्रसाद शर्माले राख्नुभएको थियो। सल्लाहकार कुलप्रसाद भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा सुनाई सम्बन्धी अपांगता भएका ५३ जना व्यक्तिहरू सहभागी भएका थिए, भने प्रमाणपत्र समेत वितरण गरिएको थियो।
कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको हकहितका लागि निरन्तर रूपमा आवाज उठाउँदै कानून निर्माणमा भूमिका खेलेको भन्दै सांसद सुनिता थापा र अभिमुखिकरण कार्यक्रममा सहयोग पुर्याएको योगदानस्वरूप सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेललाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

Google search engine