वालिङ, ११ चैत ।
स्याङ्जाको वालिङमा बालमैत्रि स्थानीय शासन प्रर्वद्धन तथा व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले वालिङ नगरपालिकालाई बालमैत्रि घोषणा तथा कार्यान्वयनका लागी नगरपालिका कार्यविधि नै बनाएर अगाडि बढ्ने बताउनुभयो । आगामी २०८३ मंसिर ४ गते अन्तराष्ट्रिय बाल अधिकार दिवसका दिन वालिङ नगरपालिकालाई बालमैत्रि नगर घोषणा गर्ने तयारीका लागि सम्पुर्ण सरोकारवालाहरुको सहयोगको अपेक्षा राख्दै स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकामा छिट्टै बाल अधिकार सुनिश्चित गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले आफ्नो भनाई राख्नुभएको थियो । स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा राष्ट्रिय बाल परिषद गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बालबालिकाको अधिकार र अवस्था, वालिङ नगरपालिकामा बालबालिकाको तथ्यांक र अवस्था, बालमैत्री स्थानीय शासनको सुचाङ्क, हाम्रो भुमिका तथा बालमैत्री स्थानीय शासन साझा प्रतिवद्वता लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम कार्यालयका प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कार्यालयक सहायक प्रशासकीय अधिकृत द्रोणप्रसाद पनेरुले गर्नुभएको थियो । बालमैत्रि पालिका घोषणाका लागी विभिन्न ५१ सूचकहरु पुरा गर्नुपर्ने हुन्छ । स्याङ्जाको पहिलो बालमैत्रि नगरपालिका भीरकोट नगरपालिका हो । कार्यक्रममा आगामी वि.सं. २०८३ मंसिर ४ गते अन्तरास्ट्रिय बाल अधिकार दिवसको दिन वालिङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने प्रतिवद्वतामा उपस्थित सरोकारवालाहरुले सामुहिक हस्ताक्षर गरेका छन् । बालबालिका अन्तर्गत १८ वर्ष पूरा नभएका अर्थात छ हजार ५ सय ७० दिन सम्म उमेरका पर्छन् । वालिङ नगरपालिकामा कुल जनसंख्याको २८.५७ प्रतिशत बालबालिका रहेको तथ्यांकले देखाएको छ । कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।