वालिङ, २६ फागुन ।
वालिङ चेम्बर अफ कमर्शको आयोजनामा वालिङ–८, खेलमैदानमा जारी रहेको प्रथम पिंक सिटी महोत्सव वालिङमा हिजोदेखि कृषि उपजको प्रदर्शनी शुरु भएको छ । कृषकहरुले हिजो पहिलो दिन आईतबार मुला, फर्सी, बन्दा, उखुँ, विभिन्न लहरे तरकारीका बेर्नाहरु समेत प्रदर्शनीका लागी ल्याएका छन् । महोत्सवमा रहेको स्टल नं. ४, ५, ६, ७ र ८ नम्बर स्टलमा भोली मंगलबार सम्म कृषकहरुले आफ्ना कृषि उपजहरुको प्रदर्शनी तथा विक्रीका लागी लैजान सक्ने महोत्सवका कृषि उपज प्रदर्शनीका संयोजक चोलाकान्त अर्यालले जानकारी दिनुभयो ।
कृषि प्रदर्शनीमा उत्कृष्ट बन्ने कृषकको लागी पुरस्कारको समेत व्यवस्था गरिएकोे छ । कृषि उपजहरुको मुल्यांकन मंगलबार बेलुका गरिनेछ । मुल्यांकन समितिमा कृषि स्रोत केन्द्र, कृषि शाखा, कृषि ज्ञान केन्द्रका व्यक्तिहरुको टोली रहेका छन् । विभिन्न प्रकारका कृषि उपजका विचमा प्रर्दशनी गरि स्थानिय स्तरमा उत्पादन गर्नुभएका कृषकहरुलाई विभिन्न विधामार्फत छनोट गरी पुरस्कार प्रदान गरिने संयोजक अर्यालले जानकारी दिनुभयो । पुरस्कारमा प्रथम पुरस्कार पाँच हजार बराबरको कृषि औजार, द्वितीय पुरस्कार २५ सय बराबरको कृषि औजार र तृतीय पुरस्कार १५ सय बराबरको कृषि औजार रहेको उहाँले जानकारी दिनुभएको छ । कृषि प्रदर्शनीमा सहभागी हुने अन्य कृषकले सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । महोत्सव चैत्र ३ गते समापन हुनेछ ।