वालिङ, ८ फागुन ।
धार्मिक पर्यटन पर्वद्धनका लागि स्याङ्जाको अर्जुनचौपारीमा नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण गरिएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नं १ जल वराह धार्मिक वन, केटीचौरमा उक्त मन्दिर निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको विशेष अनुदान चालीस लाख र गाउँपालिकाको उन्नाईस लाख तथा प्रधानमन्त्री रोजगारको श्रमबाट नवग्रह मन्दिर निर्माण भएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । नवग्रह मन्दिर शनिबार मात्र खुला हुने जसअन्र्तगत नौमध्ये एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।
झण्डै एकसय ५७ रोपनी क्षेत्रफलमा फैलिएको जलबराह धार्मिक वनमा २७ फिट अग्लो नवभुज आकारको आकाशतर्फ फर्केको नवग्रह मन्दिर बनाईएको हो । हिन्दु धर्मसँग आस्था राख्ने विद्धान र अगुवा धार्मिक गुरुहरुसँगको परामर्शमा बीचमा रहेको पिलरको सबैभन्दा माथि आकाशतिर फर्काएर सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ । यहाँ निर्माण गरिएको प्रतिमा भारतको नर्वदा नदीको शीलाबाट निर्माण गरिएको हो । मन्दिरमा सूर्य, शुक्र, केतु, चन्द्र, मङ्गल, बुध, शनि, वृहस्पति र राहुका प्रतीकहरु राखिएको छ । जलबराह वन क्षेत्र परिसरमै नवग्रह मन्दिरसँगै षटकोण शिवालय निर्माण गरिएको छ भने षटकोणका कोणहरुमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको प्रतिमा निर्माण गरिएको छ ।
गाउँपालिकाको केन्द्रदेखि नजिकैको उचाईमा रहेको डाँडामा अवस्थित नवग्रह मन्दिर धार्मिक दृष्टिसँगै पर्यटकीय दृष्टिले पनि महत्वको ठाउँमा रहेको छ । निक्कै आकर्षकरुपमा नयाँ प्रकृतिको नवग्रह मन्दिर निर्माण सम्पन्न भएकाले महाशिवरात्रिको अवसर पारेर मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान एव्म धार्मिक महोत्सव आयोजना गरिएको अध्यक्ष तिवारीले बताउनुभयो ।
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो । मन्दिरको उद्घाटन गर्दै उहाँले नेपालमै पहिलो पटक निर्माण गरिएको यस मन्दिरले अर्जुनचौपारीको मात्रै नभएर समग्र स्याङ्जाको धार्मिक पर्यटन पर्वद्धनमा कोसेढुङ्गा साबित हुने बताउनुभयो । यहाँ देश तथा विदेशका ख्यातिप्राप्त धार्मिक गुरुहरुबाट कथा प्रवचन भइरहेको छ । प्राण प्रतिष्ठाको अवधिमै यहाँ एक करोड २५ लाख दीप प्रज्वलन गरिनेछ । नवग्रह मन्दिर अनुष्ठान एवम् धार्मिक महोत्सव महाकुम्भको समयावधिलाई मध्यनजर गर्दै मंगलबारदेखि महाशिवरात्रिको दिन अर्थात यही फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । उक्त नवग्रह मन्दिरले आन्तरिक तथा बाह्य पर्यटकका लागी पर्यटकीय गन्तव्यका रुपमा महत्वपुर्ण भुमिका खेल्ने छ ।