तोलाकान्त बगाले
वालिङ, ३० माघ ।
सामाजिक विकास कार्यालय स्याङ्जाले वातावरण संरक्षणमा जोड दिंदै विद्यार्थीलाई सीप हस्तान्तरण गरेको छ । पछिल्लो समयमा प्लाष्टिकजन्य वस्तुहरुको बढ्दो प्रयोग र त्यसको समुचित ब्यवस्थापन हुन नसक्दा वातावरणमा पारेको असरलाई मध्यनजर गर्दै उक्त कार्यालयले प्लाष्टिकको पुनः प्रयोग गरी आकर्षक सामग्री बनाउने सीप सिकाएको हो । सामाजिक विकास कार्यालय जिल्लाका विभिन्न विद्यालयमा पुगेर स्थानीय ज्येष्ठ नागरिकहरुसँग भएका सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्ने कार्यक्रम गर्नेक्रममा स्याङ्जाको आँधीखोला गाउँपालिका ५ को गोगनपानी आधारभूत विद्यालयमा सीप सिकाईएको सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो ।
“जलवायु परिवर्तनबाट हुने असर हामी र हाम्रो भावि पिडीकालागि एउटा गम्भीर संकटको विषय हो, प्लाष्टिकले माटोको उर्वराशक्ति घट्छ, वायु प्रदुषण गराउँछ” उहाँले भन्नुभयो, “वातावरण संरक्षणमा सबै क्षेत्रले स–सानो काम गर्नुपर्दछ भन्ने उद्देश्यसहित पुरानो पुस्तामा रहेका ज्ञान र सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्न सके आगामी दिनमा केही हदसम्म टेवा पुग्नसक्छ ।”
सामाजिक विकास कार्यालयले विस्कुट, चाउचाउ र अन्य काम नलाग्ने र प्रयोग भईसकेका प्लाष्टिकको प्रयोग गरी बस्ने चकटी, सजावटका सामग्रीहरु बनाउने सीप हस्तान्तरण गरेको हो । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्रै नभई प्रयोगात्मक र ब्यवहारिक ज्ञान तथा सीप सिकाउन सकेमात्रै आगामी दिनमा जीवन उपयोगी हुनसक्ने उहाँले बताउनुभयो ।
मंगलबार गोगनपानी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुले स्थानीय स्रोत र साधनको प्रयोग गरी ज्येष्ठ नागरिकहरुबाट विभिन्न सीपहरु सिकेका थिए । कोही विद्यार्थी प्लाष्टिकका चकटी, बाबियो खरको कुचो, बाँसको मुढा, मकैको भुत्लाबाट बनाईने चकटी, दुना टपरी बनाउन सिकेका विद्यालयका प्रधानाध्यापक ख्यामनारायण लामिछानेले बताउनुभयो । वातावरण संरक्षण र प्लाष्टिकले गर्ने प्रदुषण नियन्त्रणमा सहयोग होस् भन्ने उद्देश्यले बालबालिकाहरुलाई सीप सिकाईएको प्रअ लामिछानेले बताउनुभयो । “ज्येष्ठ नागरिकहरुले आँफूहरुमा भएको ज्ञान सीपलाई सहज तरिकाले स–साना बालबालिकालाई सिकाउनुभयो” प्रअ लामिछानेले भन्नुभयो, “विद्यार्थीले पनि उत्साहित भएर परम्परागत सीपहरु सिकेका हुन् ।”
विद्यालयमा सिकेका सीपलाई आगामी दिनमा आ–आफ्नो घर, समुदाय, विद्यालयहरुमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिएका छौं, हामी सबैले आ–आफ्नो ठाउँबाट जे जति सक्छौं वातावरण संरक्षण र जलवायु परिवर्तनबाट हुने असरका विषयमा समयमै सजग हुनुपर्ने धारणा उहाँको छ ।
सामाजिक विकास कार्यालय स्याङ्जाले खाजाकालागि पनि टपरीको प्रयोगलाई अधिकतम प्राथमिकता दिएको छ भने टपरी बनाउन पनि सीप सिकाउँदै गएको छ ।