वालिङ, २ फागुन ।
स्याङ्जाको वालिङ १२ मैदानस्थित देवी देउराली युवाक्लबको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको छ । देवी देउराली युवाक्लबको ३३ औँ वार्षिकोत्सवको अवसरमा साविक वडा तथा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले खेल क्षेत्रको विकाससँगसँगै खेलाडीहरुको क्षमता विकासकालागि जोड दिनुपर्ने बताउनुभयो । यस प्रकारका प्रतियोगिताले गाउँ गाउँमा लुकेर रहेका प्रतिभाहरुको प्रष्फुटनमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा रेडियो आँधीखोलाका कोषाध्यक्ष बिमल अर्यालले प्रतियोगिताको सफलताको कामना गर्दै खेललाई ब्यावसायिकतातर्फ उन्मुख गराउँदै लैजानुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य चित्रबहादुर गुरुङ, नेपाली काँग्रेस वालिङ १३ का वडा सभापति हेमन्त गैह्रे, समाजसेवी थमन गुरुङ, शिवलाल गरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रम क्लबका उपाध्यक्ष निकेश गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत नेपाली काँग्रेस प्रदेश प्रतिनिधि कमल कुँवरले र सञ्चालन क्लबका सल्लाहकार रमेश गुरुङले गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुनेले ७७ हजार ७७७ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश ः ४७ हजार ७७७, २६ हजार ६६६ र १६ हजार ६६६ नगद, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै भेट्रान्सतर्फ प्रथम पुरस्कार पाडो र द्वितीय पुरस्कार २ वटा भाले रहेको छ । प्रतियोगिता यही फागुन ७ गते सम्म सञ्चालन हुनेछ ।