तोलाकान्त बगाले
वालिङ, १ फागुन ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशित गरेको सूचकाङ्कका आधारमा स्याङ्जाका गाउँपालिकाहरु अगाडि देखिएका छन् ।
वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहकालागि निर्धारण गरिएको कार्य सम्पादन सूचकको मूल्याङकन गरी अङ्क प्रदान गरेको हो ।
वित्त आयोगले विभिन्न १७ वटा सूचकहरुको कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रकाशित गरेको नतिजा अनुसार स्याङ्जाका एघार स्थानीय तहमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्नेमा गाउँपालिकाहरु अगाडि देखिएका छन् ।
स्याङ्जामा प्रथम हुनेमा कालीगण्डकी गाउँपालिका रहेको छ । कालीगण्डकीले ७८.२ अङ्क प्राप्त गरी प्रथम भएको छ । दोस्रोमा आँधीखोला गाउँपालिका रहेको छ । आँधीखोलाले ७८ अङ्क प्राप्त गरेको छ । त्यस्तैगरी तेस्रो फेदीखोला गाउँपालिका भएको छ । फेदीखोलाले ७७.९ अङ्क प्राप्त गर्न सफल भएको छ ।
चौथोमा बिरुवा गाउँपालिका ७४.३, पाँचौंमा वालिङ नगरपालिका ७३.७, छैटौंमा पुतलीबजार नगरपालिका ७१.५, सातौंमा गल्याङ नगरपालिका ६६.१, आठौंमा भीरकोट नगरपालिका ६५.७, नवौंमा अर्जुनचौपारी गाउँपालिका ६४.९ दशौंमा चापाकोट नगरपालिका ६२.६ रहेको छ भने अन्तिममा हरिनास गाउँपालिका ५४.२ अङ्कसहित रहेको छ ।
स्थानीय तहहरुले हाल प्राप्त गरेको अङ्क चित्त नबुझेमा एक साताभित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनकालागि आयोगसमक्ष निवेदन दिन सक्ने ब्यवस्था रहेको छ ।