वालिङ, ८ माघ ।
लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ एम नेपालको तेस्रो क्याविनेट बैठक माघको तेस्रो साता स्याङ्जाको वालिङमा हुने भएको छ । लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ एम नेपाल अन्तर्गतका झण्डै एक सय ४० क्लबहरुको सहभागितामा माघ २५ र २६ गते वालिङमा बैठक हुने भएको हो । रिजन ९ अन्तर्गतका स्याङ्जाका ६ वटा क्लबहरु आयोजक रहने गरी लायन्स क्लब अफ वालिङ सिटीका पूर्व अध्यक्ष चेतनारायण श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेर तयारीलाई तिव्र पारिएको छ ।
डिस्ट्रिक अन्तर्गतका झण्डै सात सय जना सहभागी हुने उक्त बैठकलाई सभ्य र भब्यरुपमा सम्पन्न गर्नकालागि मुल आयोजक समिति सहित विभिन्न उपसमितिहरु गठन गरी तयारीलाई तिब्रता दिईएको मुल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा झण्डै १६ लाख खर्च लाग्ने अनुमान गरिएको छ । बाहिर जिल्लाबाट आउने अतिथि पाहुनाहरुलाई वालिङमा भब्यरुपमा स्वागत सत्कार गर्ने, यहाँका धार्मिक, ऐतिहासिक, पर्यटकीय, पुरातात्विक महत्वका स्थलहरुको पहिचान गरी पर्यटन प्रवद्र्धनमा विशेष जोड दिईने सहसंयोजक सजना कोईराला कडेलले बताउनुभयो ।
तयारी बैठक तथा पत्रकार सम्मेलनमा लायन्स क्लब अफ वालिङ सिटीका ज्येष्ठ सदस्य कर्णबहादुर श्रेष्ठ, जोन चियर पर्सन बिजय कोईराला, वालिङ सिटीका पूर्व अध्यक्ष दीपक लम्साल, लायन्स क्लब अफ भीरकोटका अध्यक्ष ढाकाराम खनाल, पूर्व अध्यक्ष यामप्रसाद अधिकारी, सिनियर लायन श्री गुरुङ, लायन रमेश अर्याल, लायन फणिनारायण रेग्मी, लियो क्लब वालिङका पूर्व अध्यक्ष दिक्षान्तप्रताप खाँण, पत्रकार महासंघ स्याङ्जाका सचिव सुशील सुवेदीलगायतले कार्यक्रमको सफलताको शुभकामना तथा तयारीका विषयमा आ–आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।