पुष १०, चिसोयाममा बिहान झिसमिसेको पहिलो प्रहरमै ‘मर्निङ वाक’ निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुले बताएका छन् । एकाबिहानैको हावा बढी प्रदूषित हुने भएकाले विज्ञहरुले सकेसम्म घाम लागेपछि मात्रै निस्कन उपयुक्त हुने सुझाव दिएका छन् । चिसो हावामा धूलो, धुँवा र कार्बन कर्णलगायतका प्रदूषण तैरिन नसकी जमिनकै सतहमा रहेका हुन्छन् ।वातावरणविद् भूषण तुलाधारले गर्मीयामको तुलनामा जाडोयाममा बिहान सामान्य अवस्थामा जमिनमा रहने चिसो हावा बढी प्रदूषित हुने गरेको बताउनुभयो । तुलाधारका अनुसार काठमाण्डौ जस्तो उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाडोको समयमा प्रदूषण बढ्छ । नागरिकले पनि चिसो मौसममा फोहर जलाउने, घर तताउन तथा खाना पकाउन जैविक इन्धन (दाउरा, कोइला) र तरल पेट्रोलियम ग्यासको प्रयोग बढी गर्ने र ग्रामीण क्षेत्रमा अझै पनि परम्परागत दाउराको प्रयोग हुने गरेकाले प्रदूषण हुने गति तीव्र हुन्छ ।जलवायुविद् मञ्जित ढकालले प्रदूषणको स्रोत नै गाडीबाट निस्कने धुँवा भएको उल्लेख गर्दै समस्या समाधान गर्न सके जलवायु परिवर्तनको कारक तत्वका रुपमा रहेको कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।मुटुरोग विशेषज्ञ डा.रञ्जित शर्माका अनुसार जाडोयाममा घाम लाग्नुअघि बढी प्रदूषण हुने भएकाले यसबाट मुटुरोगीलाई बढी असर गर्छ । जाडो याममा शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली खुम्चने हुन्छ । यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुनसक्छ । मुटु, रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमबाट पीडितले सकेसम्म बिहान अबेर मात्रै व्यायाम गर्नुपर्ने उहाँको सुझाव छ । यस्तै जनस्वास्थ्यविद् डा.समिर अधिकारीले बढ्दो वायु प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, हृदयघातजस्ता स्वस्थ्यमा गम्भीर असर गर्ने भएकाले सतर्कता अपनाउन सुझाव दिनुभयो ।
यसैबीच काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज मौसम आंशिक बदली छ । बाग्मती, गण्डकी र कोशी प्रदेशमा आज आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ भने तराईमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बद्ली रही एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । आज बिहान तराई तथा काठमाण्डौका केही ठाँउमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोको तुलनामा आज बढेर बिहान ७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस थियो । गएको आइतवार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरु भएको मौसम बदलीले हिजो देशका धेरै जसो ठाउँमा प्रभाव पारेको थियो । हिजो बेलुका काठमाण्डौ उपत्यका, डडेलधुरा, दिपायललगायत केही ठाउँमा सामान्य हिउँदे वर्षा भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । मौसमविद् अर्यालका अनुसार आज मौसममा क्रमिक सुधार भए पनि पर्सि शुक्रवार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको छ । यो प्रणालीले पश्चिम नेपालमा धेरै प्रभाव पर्ने भए पनि काठमाण्डौ उपत्यकासम्म नै वर्षा गराउने मौसमविद्ले बताएका छन् ।