वालिङ, १४ असोज ।
स्याङ्जाको वालिङमा बीउ बिजन उत्पादनकालागि स्थानीय स्तरमा जग्गा तथा सिञ्चाई ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरिएको छ । कृषि विकास श्रोत केन्द्र वालिङको आयोजनामा सोमबार यवादीस्थित कृषि विकास श्रोत केन्द्रको हलमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न जातीका खाद्यान्न तथा तरकारी बालीका बीउ बिजन उत्पादन कार्यमा अगाडि बढ्न कृषकहरुलाई आग्रह गर्नुभयो ।
जमिन खाली नराखी सामूहिक वा ब्यक्तिगतरुपमा बीउ उत्पादनमा जोड दिन आग्रह गर्दै उत्पादित बीउ बिजनको बजारीकरणकालागि कुनै पनि समस्या नभएको उहाँले बताउनुभयो । कृषि विकास श्रोत केन्द्रलाई कृषिसम्बन्धी विषयहरुकाबारेमा सिक्ने सिकाउने थलोकारुपमा विकास गर्दै लगिएको उहाँको भनाई थियो । अन्तरक्रिया कार्यक्रममा कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमाल, वालिङ वडा नं. १ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता पदमराज गुरुङ, त्रियासी कृषि उपज बजार ब्यवस्थापन सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रकाश अर्याल लगायतले कृषि क्षेत्रको संभावनाका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रममा कृषि श्रोत विकास केन्द्र वालिङका प्रमुख सुदीप रेग्मीले विशेष गरी बौवाको जग्गा संरक्षण, बौवामा निर्माणाधिन अवस्थामा रहेको भूमिगत सिञ्चाई सम्पन्न गर्ने र कार्यालय परिसरमा डीप बोरिङ बनाई सिञ्चाईको सुविधा पु¥याउनकालागि हाल भईरहेका गतिविधि र आगामी कार्य योजनाहरुकाबारेमा जानकारी गराउनुभएको थियो । स्थानीयबासीहरुले वालिङ १ बौवामा रहेको जग्गा कृषि विकास श्रोत केन्द्रलाई बीउ बिजन उत्पादनको प्रयोजनार्थ दिने विषयमा छलफल भएको थियो ।कृषि विकास श्रोत केन्द्र वालिङका प्रमुख सुदीप रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नायव प्राविधिक सहायक नवराज भुसालले गर्नुभएको थियो भने स्वागत बाली विकास अधिकृत पुकार खनालले गर्नुभएको थियो ।