तोलाकान्त बगाले
वालिङ, २४ भदौ ।
यहाँका एक युवाले विभिन्न प्रजातिका बेर्ना÷बिरुवा बिक्री गरेर रु. दश लाख बढी आम्दानी गर्नुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका २ रैबारका २७ वर्षीय प्रदीप पाण्डेले गत आव २०८०÷०८१ मा बेर्ना बिक्रीबाट रु. दश लाख बढी आम्दानी गर्न सफल हुनुभएको हो ।
२२ वर्षको कलिलै उमेरदेखि नर्सरी ब्यवसाय थाल्नुभएका पाण्डेले समय अनुसारका फलफूल, घाँसका बेर्ना लगायतका विभिन्न प्रजातिका थुप्रै बिरुवाहरु उत्पादन तथा बिक्री गरी आम्दानी गर्दै आउनुभएको हो ।
वि.सं २०७५ सालमा ‘जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्र’ नामक नर्सरी दर्ता गरी ब्यवसाय थाल्नुभएको हो ।सुरुका दिनमा दुई रोपनी क्षेत्रफलमा नर्सरी स्थापना गरी बिरुवा उत्पादन गर्नुभएको हो । पाण्डेले हाल पाँच रोपनी क्षेत्रफलमा बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।
कारोबार भएको मध्ये खर्च कटाएर दश लाख बढी आम्दानी भएको पाण्डेले बताउनुभयो ।“सुरुका वर्षहरुमा नर्सरी स्थापना भएपनि प्रभावकारी ढंगले सञ्चालन भएन” उहाँले भन्नुभयो, “सुरुका वर्षहरु अनुभव लिने, पूर्वाधार निर्माण गर्ने, बजारीकरणको संभावनाहरुकाबारेमा बुझ्दै बित्यो, पछिल्ला २–३ वर्षदेखि उत्पादन भएका बिरुवाहरु राम्रो बिक्री भएको छ ।”
सुरुका दिनहरुमा बजारीकरणको समस्या भएपनि पछिल्लो समयमा यहाँ उत्पादन भएका बिरुवा देशका पूर्वदेखि पश्चिमसम्मका ठाउँहरुमा बिक्री हुने गरेको छ ।
पाण्डेले सञ्चालनमा ल्याउनुभएको नर्सरीमा ६ वटा ‘हाईटेक टनेल’ छन् । उहाँले तिनै टनेलहरुभित्र फलफूल अन्तर्गत कागती, सुन्तलाका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । त्यस्तैगरी घाँस अन्तर्गत राईखनियो लगायतका डाले घाँसहरु, मोरिङ्गा, तेजपत्तालगायतका अन्य धेरै प्रजातिका बिरुवाहरु उत्पादन गर्दै आउनुभएको छ ।
हाल सञ्चालन गर्दै आएको नर्सरीलाई अझै विस्तार गरी नर्सरीबाटै वार्षिक दुई लाख वटा विभिन्न प्रजातिका बिरुवा÷बेर्ना बिक्री गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
नर्सरी ब्यवसाय सञ्चालनकालागि उहाँले कृषि ब्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र पोखरा र कृषि ज्ञानकेन्द्र स्याङ्जाबाट बिरुवा उत्पादनसम्बन्धी तालिम लिनुभएको छ । कृषि ज्ञानकेन्द्र स्याङ्जा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाबाट अनुदान तथा प्राविधिक ज्ञान पाएको उहाँले बताउनुभयो । मौसम अनुसार नर्सरीमा काम गर्नकालागि ज्यालादारीमा कामदार लगाउँदै आउनुभएको छ ।
जिल्लाभित्रका केही पालिका तथा संघ संस्थाहरुले यहाँ उत्पादन भएका बिरुवा÷बेर्नाहरु लैजाने गरेका छन् । यहाँ उत्पादन भएका बिरुवा÷बेर्ना जिल्लाभित्रभन्दा बाहिरी जिल्लाहरुबाट माग धेरै हुने गरेको उहाँले बताउनुभयो ।
“पाँच वर्षअघि नगरपालिकाले रु. ५० मा गाउँ गाउँमा कागतीका बिरुवा वितरण गरेको थियो” उहाँले भन्नुभयो, “बिरुवा÷बेर्ना उत्पादन गर्न सके त राम्रो कमाई हुने रैछ भन्ने लागेर नर्सरीलाई नै ब्यवसायिकरुपमा अगाडि बढाउने निष्कर्षमा पुगेको थिएँ ।”
काम गर्दै जाँदा नजानेका र जिज्ञाशा लागेका विषयहरुलाई युट्यूवमा हेर्ने, कृषि प्राविधिकहरुसँग सल्लाह, सुझावहरु लिने गरेको उहाँले बताउनुभयो । “भर्खरको युवा हुँ, विदेश जाने सोँच म मा पलाएन” उहाँले भन्नुभयो, “केही काम गर्न सके स्वदेशमै आफ्नो परिवारसित बस्न पाईन्छ, आम्दानी पनि राम्रै गर्न सकिने रैछ ।”