तोलाकान्त बगाले
वालिङ, २८ भदौ ।
विद्यालय पोशाकमा बाजागाजासहित शुक्रबार स्याङ्जास्थित त्रिभुवन आदर्श माविको प्राङ्गणमा विद्यार्थीहरु उपस्थित भए । सधैं कापी र कलम झोलामा हालेर विद्यालय जाने विद्यार्थीहरु बाजागाजासहित उपस्थित भए ।
विद्यार्थीहरु विद्यालय पोशाकमा त थिए तर उनीहरुसँग झोला, कापी कलम थिएन, थियो त पञ्चेबाजाका सेटहरु । जिल्लाका विभिन्न ठाउँबाट उपस्थित भएका बालबालिकाहरुको बाजा समूहले विभिन्न भाकामा बाजा बजाउन थाले । बडो जोस र जाँगरकासाथ बाजा बजाउँदा कार्यक्रममा उपस्थित दर्शक दीर्घाबाट परर्र ताली बज्यो । बाजा बजाउने बालबालिकाको बाजा समूह झनै हौसिँदै बाजा घन्काउन थाले । बालबालिकाले घन्काएको बाजामा साथमा साथ दिंदै कार्यक्रममा सहभागी केही विद्यार्थीहरु छमछमी नाँचेर साथ दिए ।
६० औं राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाले बालबालिका समूहहरुबीच पञ्चेबाजा प्रतियोगिता आयेजना गरेको हो । ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुलनाराकासाथ आयोजित जिल्लाब्यापी प्रतियोगितामा १२ पञ्चेबाजा समूहको सहभागिता रहेको हो ।आधुनिकतासँगै हाम्रा परम्परा, लोकबाजा, लोक संस्कृति लोप हुन नदिनकालागि विद्यार्थीलाई आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पञ्चेबाजा कार्यक्रमले विद्यार्थीमा भएको बहुआयामिक प्रतिभा प्रष्फुटन भएको बताउनुभयो । उहाँले यस कार्यक्रमले विद्यार्थीमा हाम्रो संस्कार, सीप, कला र संगीतको संरक्षण गर्न सक्षम हुनुकासाथै उत्प्रेरणा हुने बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले सामाजिक विकास कार्यालयले आयोजना गरेको कार्यक्रमले विद्यार्थीमा फरक किसिमको जागरण अभिवृद्धि गरेको बताउनुभयो । उहाँले बाल अधिकार अन्तर्गत आँफूले मन परेको पढाई, संगीत र संस्कृति बालबालिकाले अनुशरण गर्न पाउनु भएको बताउनुभयो । यस प्रकारको रचनात्मक कार्यक्रमले विद्यार्थीमा शिक्षा, सीप विकास तथा पुस्तान्तरणमा नयाँ आयाम थपेको बताउनुभयो ।
पुरानो पुस्तामा रहेको सीप नयाँ पुस्तामा पुस्तान्तरण हुनुकासाथै हाम्रा संस्कार संस्कृतिको संरक्षणकालागि पनि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको दावी सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको छ । हाम्रा गाउँ समाजमा हुने उत्सवहरु, विवाह र चाडपर्वहरुमा पञ्चेबाजाको प्रयोगले बालबालिकाको आयआर्जनमा पनि सहयोग पुग्ने विश्वास उहाँको छ ।
कक्षा एकदेखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाको समूह, टोल, बालक्लब, वडा कार्यालय, पालिकास्तरीय समूह निर्माण गरी कुल १२ समूहले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम कालीगण्डकी गाउँपालिकाको जनता माध्यमिक विद्यालय बिर्घा, द्वितीय आँधीखोला गाउँपालिकाका जनहीत माध्यमिक विद्यालय र तृतीय आँधीखोला गाउँपालिकाकै त्रिशहीद नमूना माध्यमिक विद्यालय भएका छन् ।
सोही समारोहमा २०८० को एसईई परीक्षामा स्याङ्जा जिल्लाबाट सबैभन्दा धेरै अङ्क प्राप्त गर्न सफल त्रिभुवन आदर्श नमुना विद्यालयका छात्र सुशन मरासिनीलाई नगद तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय भएका बाजा समूहहरुले क्रमश ः ६ हजार, ५ हजार र ४ हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेका थिए ।
जिल्ला बाल सञ्जालका अध्यक्ष सुजता पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यार्थी दृष्टि शर्मा र युनिक तिवारीले गर्नुभएको थियो ।