तोलाकान्त बगाले
वालिङ, २८ भदौ ।
स्याङ्जाका २ लाख ५३ हजार ९०२ पशुहरुमा पूर्ण खोप लगाईएको छ । स्याङ्जाका एघार स्थानीय तहबाट पशुहरुको तथ्याङ्क सङ्कलन गरी लगाउनुपर्ने खोपको सम्पूर्ण मात्रा पूरा गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठले बताउनुभयो ।
केही स्थानीय तहहरुमामात्रै सीमित रहेको खोप अभियान गत आव २०८०÷०८१ बाट सबै स्थानीय तहमा लागू भएको हो । “पूर्ण खोप कार्यान्वयनमा आएसँगै महामारीजन्य रोगहरुकाकारणा ठूलो संख्याका पशुहरु मर्नबाट रोकिने हुन्छ” उहाँले भन्नुभयो, “महामारीजन्य रोग आउन नदिन र आईहालेमा पनि त्यसबाट हुने क्षति न्यूनिकरणमा खोप अभियानले पशुपालक कृषकहरुलाई ठूलो राहत पुग्छ ।”
गत आवबाट लागू भएको खोप अभियानलाई चालु आवमा पनि निरन्तररुपमा अगाडि बढाईने उहाँले बताउनुभयो । गत आर्थिक वर्ष २०८०÷०८१ मा १३८ जना गणहरुको प्रयोग गरी जिल्लाका ९७ वटै वडाका ३९ हजार ८४७ घरमा पालिएका विभिन्न पशुहरुको तथ्याङ्क सङ्कलन गरिएको थियो । एघार स्थानीय तहका ९७ वडामा ९७ जना खोपकर्ताको प्रयोग गरी पशुहरुमा निशुल्करुपमा पूर्ण खोप लगाईएको हो । गाई, भैंसी, बाख्रा, भेंडा, बङ्गुर, कुकुर, बिरालोलाई लगाउनुपर्ने खोपको मात्रा पूरा गरिएको उहाँले बताउनुभयो ।
स्याङ्जामा कूल २ लाख ४५ हजार १९८ पशुहरु रहेका तथ्याङ्क रहेको छ । जसमध्ये सबैभन्दा धेरै बाख्रा १ लाख ५६ हजार १५९, भैंसी ५९ हजार ३९७, गाई १२ हजार ७०४, बङ्गुर ९ हजार २८२, कुकुर ६ हजार ९१३ र भेंडा ७८३ वटा रहेका छन् । गाई, भैंसी र बङ्गुरमा २÷२ वटा खोप लगाईएकाले पशुको संख्याभन्दा खोपको संख्या धेरै भएको उहाँले बताउनुभयो । गाई, भैंसीमा खोरेत, भ्यागुते र चर्चरे रोग विरुद्धको खोप तथा बङ्गुरमा खोरेत र स्वाईन फ्लू (हैजा) विरुद्धको दुई वटा खोप लगाईएको हो ।
जिल्लामा रहेका पशुहरुमध्ये सबैभन्दा धेरै पिपिआरको खोप लगाईएको छ । १ लाख ३० हजार ३८१ बाख्रा र ६९० वटा भेंडा गरी कूल १ लाख ३१ हजार ७१ पशुमा पिपिआर खोप लगाईएको उहाँले बताउनुभयो । १० हजार ३२१ गाई, ४५ हजार २९२ भैंसी र ३ हजार ९५३ वटा बङ्गुर गरी कूल ५९ हजार ५६६ पशुमा खोरेत विरुद्धको खोप लगाईएको छ । त्यस्तै ९ हजार २८२ गाई, ४२ हजार ६६८ भैंसी गरी कूल ५१ हजार ९५० गाईभैंसीमा भ्यागुते र चर्चरे विरुद्धको खोप लगाईएको छ । कुकुर ६ हजार ५०४ र बिरालो ३११ गरी कूल ६ हजार ८१५ कुकुर बिरालामा रेविज विरुद्धको खोप लगाईएको हो । ४ हजार ५०० बङ्गुरमा स्वाईन फ्लू (हैजा) विरुद्धको खोप लगाईएको हो ।