वालिङ, २४ भदौ ।
महामानव बिपी कोईरालाको १११ औं जन्म जयन्ती सोमबार वालिङमा मनाईएको छ । नेपाली काँग्रेस वालिङ नगर समितिको आयोजनामा वालिङ ८ बिपी चोकमा रहेको बिपीको शालिकमा माल्यार्पण गरी मनाईएको हो ।
माल्यार्पण कार्यक्रममा बोल्नुहुँदै गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति भोजराज अर्यालले विचारका दृष्टिले बिपी अहिले पनि जीवित रहेको बताउँदै उहाँले प्रतिपादन गरेको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
लामो ईतिहासको जगमा उभिएको नेपाली काँग्रेसका नेता कार्यकर्ताले हीनता वोध नभई डटेर देशको समृद्धिमा लाग्नुपर्नेमा उहाँको जोड थियो ।
अहिले देखिएका शक्तिहरुले राष्ट्रको हितमा काम गर्न नसक्ने दावी गर्दै उहाँले नेपाली काँग्रेसलेमात्रै राष्ट्रको हितमा काम गर्न सक्ने जिकीर गर्नुभयो ।
कार्यक्रम नेपाली काँग्रेस वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन नेपाली काँग्रेस स्याङ्जा १ (१) का सभापति केशरबहादुर खाँणले गर्नुभएको थियो ।
यसैबीच बिपी चोकका स्थानीयहरुले चोकमा हुन सक्ने संभावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै त्रिकोणात्मक रहेको चोकलाई गोलाकार बनाउनुपर्नेमा आवाज उठाएका छन् ।
बिपी चोकमा सडक विस्तार भएसँगै सवारी साधनहरुको चाप बढी हुनुकासाथै गति तीब्र हुने गरेकाले त्रिकोणात्मकरुपमा रहेको चोकलाई गोलाकार बनाएर सवारी साधनले चोकलाई घुमेर जाने आउने गराएमा दुर्घटनामा कमी हुने दावी स्थानीयको छ ।