वालिङ, १९ भदौ ।
भुम्रे माध्यमिक विद्यालय वालिङ ९ मा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षामा अक्षयकोषको स्थापना गरिएको छ । वालिङ ९ पिपलटारी निवासी दिलमाया पाध्य अर्याल पिपलटार्नीले बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययनरत बालबालिकालाई वार्शिक न्यानो कपडा वितरण गर्ने उद्देश्यले उहाँले ५० हजारको अक्षयकोषको स्थापना गर्नुभएको हो । पाध्यका छोरा पशुपति पाध्य बुहारी हुमकला अर्याल नाती चुरामणी अर्यालको उपस्थितिमा गणेश बस्यालको सक्रियातामा पाध्यले विद्यालयका प्रअ तिलकप्रसाद पराजुली र स्रोत शिक्षक डोलराज बस्याललाई ५० हजारको भौचर हस्तान्तरण गर्नुभएको हो । स्रोत कक्षामा १० जना बालबालिका अध्ययनरत छन् ।
त्यस्तै वालिङ १४ हाल वालिङ ९ भुम्रे बस्ने झम्मरबहादुर श्रेष्ठ तथा कमलादेवी श्रेष्ठका छोरी संगिता तथा ज्वाँई सुजन रावलका छोराको जन्मोत्सवमा बौद्धिक स्रोत कक्षामा अध्ययनरत विद्यार्थीका लागी खाद्यान्न हस्तान्तरण गरिएको हो । वैदेशिक रोजगारीमा रहनुभएका रावल दम्पत्तीले छोराको जन्मोत्सवको अवसरमा २५ केजी चामल, ३ केजी तेल, बेसार, सोयविन, नुन, चना, दाल, आलुसहित खाद्यान्न तथा मिठाईका परिकार र शैक्षिक सामाग्री बालबालिकालाई हस्तान्तरण गरिएको हो ।
श्रेष्ठ दम्पत्तीले विद्यालयका प्रअ पराजुली र स्रोत शिक्षक बस्याललाई आफ्नो नातीको जन्मोत्सवको अवसरमा खाद्यान्न हस्तान्तरण गर्नुभएको हो । विद्यालयका प्रअ पराजुलीले पाध्य परिवार र श्रेष्ठ परिवारलाई धन्यवाद व्यक्त गर्दै बौद्धिक अपांगता स्रोत कक्षालाई यस्ता सहयोग कार्यक्रमले थप सहज रुपमा संचालन गर्न सहयोग गर्ने बताउनुभयो ।