आरती कुँवर
वालिङ, २ भाद्र ।
यहाँका युवाहरु लामो समयदेखि लाखे नाँच संरक्षणमा जुट्दै आएका छन् । स्याङ्जाको वालिङ १४ स्थित दीपज्योति युवाक्लबमा आवद्ध युवाहरु लामो समयदेखि लाखे नाँच संरक्षणमा जुट्दै आएका हुन् ।
बढ्दो आधुनिकतासँगै पुराना संस्कार संस्कृति लोप हुन नदिन युवाहरुले सक्रियता देखाउँदै आएको दीपज्योति युवाक्लवका अध्यक्ष प्रकाश डुम्रेले बताउनुभयो । “लाखे संस्कृतिलाई लोप हुन नदिन क्लबले २१ वर्ष अघिदेखि चाडपर्वका अवसरहरुमा वर्सेनी नाँच नचाउँदै आएका छौं” उहाँले भन्नुभयो, “लाखे नाँच संरक्षणमा पुरानो पुस्ताले सहयोग र नयाँ पुस्ताले त्यसलाई आत्मसात गर्दै आएकाले यसले निरन्तरता पाउँदै गएको हो ।”
पुराना पुस्ताहरुबाट युवापुस्ताले लाखे नाँच नाँच्न तथा बाद्यवादन सिक्नमा चासो देखाएका छन् । श्रीकृष्ण जन्माष्टमी तथा अन्य चाडपर्वहरुमा लाखे नाँचसहित हिन्दु महिलाहरुको चाड तीजलाई लक्षित गरी तीज गीत प्रतियोगिता सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । हाम्रो गाउँ समाजमा लुकेर रहेका नयाँ नयाँ प्रतिभाहरुको प्रष्फुटन गर्नकालागि पनि सांस्कृतिक कार्यक्रमहरुको आवश्यकता ठानेर २१ वर्ष अघि थालिएको कार्यले सार्थकता पाएको क्लबका संस्थापक अध्यक्ष मीनबहादुर लुईटेलले बताउनुभयो ।
“जुन सोंचकासाथ क्लबले योजना अगाडि बढायो सोही अनुसार अगाडि बढिरहेको छ” उहाँले भन्नुभयो, “लाखे नाँच संस्कृतिको संरक्षणसँगै स्थानीय कला संस्कृतिको संरक्षण गर्दै पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।” विशेष गरी नेवार समुदायको संस्कृतिसँग जोडिएको भएतापनि यसलाई सबैले आ–आफ्नो ठाउँबाट अपनत्व महशुस गर्दै आएको उहाँले बताउनुभयो । चाडपर्वका समयमा टाढा–टाढा भएका मानिसहरु एकै ठाउँमा जम्मा भएर नाँचगान गर्ने, भेटघाट हुने भएकाले पनि यसको विशेष महत्व रहँदै आएको उहाँले बताउनुभयो ।