वालिङ, २४ साउन ।
रामनदी धाम राम्दीमा रहेको शिवपार्वती वृद्धाश्रममा रकम तथा जिन्सी सामान प्रदान गरिएको छ । स्याङजाको वालिङ ८ मा रहेको साइनभिलेज इन्टरनेशनल एकेडेमीले सामाजिक उत्तरदायित्व अन्र्तगत वृद्धवृद्धाहरुलाई सहयोगार्थ गरेको सडक नाटक प्रर्दशनबाट संकलित रकम बुधबार वृद्धाश्रमलाई उपलब्ध गराईएको हो ।
विद्यालयले सडक नाटक प्रदर्शन बाट संकलित भएको नगद तथा जिन्सी गरी ३५ हजार ४३५ रुपैँया राम्दीको शिवपार्वती वृद्धाश्रमलाई प्रदान गरिएको विद्यालयले जनाएको छ । जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले विद्यालयले साउन ४ गते वालिङ मोडमा समसामयिक विषयमा नाटक प्रर्दशनका साथै विद्यार्थीहरुको प्रतिभा प्रर्दशन गरेको थियो । उक्त नाटक प्रर्दशनबाट ४९ हजार १०० संकलन भएको थियो । साथै नाटक प्रर्दशनका लागी १४ हजार ६५ खर्च भएकोमा खर्च कटाएर बचत रकम तथा जिन्सी गरी ३५ हजार ४३५ रुपैँया बृद्धाश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।
आगामी दिनमा पनि जिल्लाका अन्य स्थानमा विभिन्न कार्यक्रमहरु गरी अन्य क्षेत्रमा सहयोग गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष शंकर श्रेठले बताउनुभयो । विद्यालयको यो शुरुवाती चरणमा वृद्ध बुवाआमाहरुको आर्शिवादबाट शुरु गरिएको भन्दै आगामी दिनमा यस्तै कार्यक्रम गरी अन्य क्षेत्रमा सहयोग गर्ने उहाँको भनाई छ । अध्यक्ष श्रेष्ठले विद्यार्थीहरुलाई समाजमा सकरात्मक सन्देश जाने खालका कार्यक्रममा अगाडि बढाउन सकिने र विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने प्लेटफर्म बन्ने बताउनुभयो ।
कार्यक्रममा नाटक प्रर्दशनीको उद्देश्य, संकलन रकम, खर्चलगायतका विषयमा विद्यालयका संयोजक तेजप्रसाद पंगेनीले प्रकाश पार्नुभएको थियो । सडक नाटक प्रर्दशनीमा उठेको रकम मध्ये १३ हजार ९३५ रुपैँयाको खाद्यान्न लगायतका जिन्सी र २१ हजार ५०० नगद आश्रमलाई हस्तान्तरण गरिएको संयोजक पंगेनीले बताउनुभयो ।
आगामी दिनमा वालिङ, भीरकोटका मुख्य बजारहरुमा पनि समय मिलाएर कार्यक्रमहरु गर्ने र त्यहाँबाट संकलित भएको रकम अन्य क्षेत्रको लागी सहयोग गरिने संयोजक पङ्गेनीले बताउनुभयो । बालबालिकाहरुलाई पढाईसँगै आन्तरिक क्षमता विकासमा पनि सरिक बनाउने उद्देश्यले एकेडेमीले अतिरिक्त क्रियाकलापमा प्राथमिकता दिएको छ ।
राम्दी स्थित आश्रममा ८ पुरुष र १५ महिला गरी २३ जना बृद्धबृद्धाहरुले आश्रय लिएर बस्दै आउनुभएको छ । आश्रममा विभिन्न व्यक्तिहरुले विवाह, जन्मोत्सलगायतका शुभ कार्य साथै दिवंगत पितृहरुको सम्झना तथा पुन्य तिथिमा पनि सहयोग गर्दै आएका छन् ।