वालिङ, २१ जेठ ।
वालिङमा सहकारी संस्थाहरुका अध्यक्षको लागी क्षमता विकास तालिम प्रदान गरिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड केन्द्रिय कार्यालय कुपण्डोल काठमाडौँको आयोजनामा वालिङमा सहकारी संस्थाका अध्यक्षहरुको लागी दुईदिने क्षमता विकास तालिम प्रदान गरिएको हो ।
सहकारी संघ संस्थालाई कुशलतापुर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सहयोग पुर्याउने उदेश्य अनुरुप तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । एनसिबिएल सदस्य शिक्षा अन्तर्गत आयोजनाभएको कार्यक्रममा राष्ट्रिय टे«नर अनिलबीर बज्राचार्यले तालिम प्रदान गर्नुभएको थियो । तालिममा वालिङ सहित, कालीगण्डकी, चापाकोट, भीरकोट नगरपालिकाका ५० जना सहकारीका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
तालिमको उद्दघाटनमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका लेखा तथा सुपरिवेक्षण समिति सदस्य चन्द्रकुमारी पराजुलीले संस्थाहरु सञ्चालनको दौडानमा सञ्चालक समिति, कर्मचारी र सदस्यहरु संस्थाको मेरुदण्ड हुने भन्दै यी तिन मेरुदण्डहरु नियमसंग तथा प्रभावकारी ढंगबाट चलायमान हुने बताउनुभयो । संस्थाको नीति विधिमा आधारित भएर संस्था चलाउने, सुशानलाई आधार मानेर अगाडी बढेमा आफुँले नेतृत्व गरेको संस्था बलियो हुने कुरामा उहाँको जोड थियो ।
तालिमको समापनका अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष यज्ञ पाठक, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य तथा कानुङ बचत तथा ऋण सकारी संस्थाका अध्यक्ष उमेश दर्लामी, उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनाल, स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निताकुमारी बगालेलगायतले तालिम निकै प्रभावकारी रहेको बताउनुभयो ।
तालिमले सहकारीको मुल्य र मान्यतालाई आत्मसात् गर्न थप प्रोत्साहन गरेको वक्ताहरुको भनाई थियो । तालिमको समापन राष्ट्रिय सहकारी बैंकका संचालक एवं गण्डकी प्रदेशका संयोजक रामबहादुर विसिको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन राष्ट्रिय सहकारी बैंक वालिङ शाखा प्रमुख टिकाराम अधिकारीले गर्नुभएको थियो ।
तालिममा सहकारीहरुले कार्ययोजना तथा बजेट निर्माण, प्रभावकारी ऋण व्यवस्थापन, आधारभुत वित्तीय साक्षरता सम्बन्धी ज्ञान एवं सदस्यलाई वित्तिय परामर्श उपलब्ध गराउने भुमिका, सहकारी ऐन, नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, वित्तिय विश्लेषण गर्ने सिप, आन्तरिक ऋण नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा संचालक अध्यक्षको भुमिका विषयमा सहजीकरण गरिएको थियो ।