तोलाकान्त बगाले
वालिङ, १८ जेठ ।
वालिङमा प्रभावकारी र समावेशी सुदृढीकरण कार्यक्रमसम्बन्धी एकदिने प्रशिक्षण गरिएको छ ।
लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण तथा लैंगिक उत्तरदायी बजेट अन्तर्गतको स्थिति, चुनौति र सफलताहरुमा प्रशिक्षण कार्यक्रम शुक्रबार वालिङमा गरिएको हो ।
वालिङ नगरपालिकाको आयोजनामा दलित महिला केन्द्रको सहकार्य र द एशिया फाउण्डेशनको प्राविधिक सहयोगमा प्रशिक्षण गरिएको हो ।
नगरपालिकाका जनप्रतिनिधिहरु, शाखा प्रमुखहरु सहभागी भएको उक्त कार्यक्रममा लैंगिक समावेशी, दलित, महिला, अपाङ्गता भएका नागरिकहरुको स्थिति, चुनौती र सफलताहरुसाथै उत्कृष्ट अभ्यासहरुका विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह«ेले अहिलेसम्म नगरपालिकाले यस क्षेत्रमा गरेका कार्यहरुलाई निरन्तरता दिंदै आगामी दिनमा कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।
पछाडि परेको क्षेत्रलाई नीति निर्माण, योजनादेखि बजेट विनियोजन गरी कार्यान्वयनसहित उपलब्धी हासिल गर्नेमा आँफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा दलित महिला नेपाल केन्द्रका कार्यक्रम प्रमुख रिजु रसाईलीले वालिङमा यसअघि गरिएका नीति निर्माण र तिनीहरुको कार्यान्वयनको अवस्थाकाबारेमा बताउनुभएको थियो ।
वालिङले यस क्षेत्रमा असल अभ्यासहरु गरिसकेकाले अन्य स्थानीय तहहरुले अनुशरण गर्न सक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्ले, स्वास्थ्य शाखा प्रमुख कमल पाण्डे, लेखा सहायक इश्वरीप्रसाद तिवारी, स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोख्रेल, सीता रेग्मी काफ्लेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरु तथा शाखा प्रमुखहरुले लैंगिक, समावेशी, दलित, अपाङ्गता भएका क्षेत्र तथा ब्यक्तिहरुलाई आगामी नीति कार्यक्रम तथा बजेटमा सम्बोधन गर्न सकिने विषयमा छलफल भएको थियो ।