वालिङ, १२ जेठ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँधस्थल आँधीमुहानमा मोटरबोट (स्टिमर)मा शनिबार बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका लेखा समिति सभापति सुधीरकुमार पौडेलले खेलकुदका माध्यमबाट स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्नका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
धार्मिक महत्व बोकेको कालीगण्डकी र आँधीखोलाको सङ्गमस्थल आँधीमुहानमा सञ्चालित देशकै पहिलो मोटरबोट (स्टिमर) मा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
खेलकुदका माध्यमबाट यहाँको धार्मिकस्थलहरुको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गन स्टिमरमा प्रतियोगिता सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले यस्ता प्रतियोगिता देश विदेशमा सकरात्मक सन्देश प्रवाह गर्ने माध्यम बन्ने बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका आठ जिल्ला र आयोजकका रुपमा रहेको कालीगण्डकी गाउँपालिका गरी नौ टोलीका ३६ जना सहभागी भएका प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न कालीगण्डकी गाउँपालिकाले रु तीन लाख र गण्डकी प्रदेश खेलकुद परिषदले तीन लाख रुपैयाँ विनियोजन गरेका छन् ।