वालिङ १४ को सेवा दुई ठाउँबाट

0
934
Google search engine

तोलाकान्त बगाले
वालिङ, २५ वैशाख ।
स्याङ्जाको वालिङ १४ नं वडाले मंगलबारदेखि दुई ठाउँबाट सेवा दिन थालेको छ । भौगोलिकरुपमा वालिङकै ठूलो र विकटमा रहेको उक्त वडाले वडाबासीको मागका आधारमा दुई ठाउँबाट सेवा दिन थालेको हो ।
हाल तिवारी पसलमा रहेको वडा कार्यालयबाट सेवा दिंदै आएको वडाले दुई दिन वडाकै अर्को ठाउँबाट सेवा दिन थालेको वडा अध्यक्ष बोधराज कुँवर (राजु) ले जानकारी दिनुभयो ।
“भौगोलिकरुपमा निक्कै ठूलो र अपायक भएपछि वडाबासीले सेवा लिन असहज भएकाले अत्याधिक माग भई आयो” उहाँले भन्नुभयो, “वडाबासीलाई सहजरुपमा सेवा दिन मिल्ने गरी प्रत्येक मंगलबार र बुधबार पेखु बाघखोर स्वास्थ्य चौकीमा कार्यालय ब्यवस्थापन गरी सेवा दिन थालेका हौं ।”
थुमपोखरा तिवारी पसलबाट साविककैरुपमा सेवा प्रवाह भई रहने उहाँले बताउनुभयो । पेखु बाघखोरबाट हुग्दी, कोखे, दाङ्से, मान्खु, पेखु देउराली लगायतका टोलका करिव एक हजार ८०० जनताले सहजरुपमा सेवा पाउने भएका हुन् । उक्त वडामा छ हजार ५०० नागरिकहरु बसोबास गर्दै आएका छन् ।
“साविकको वडा कार्यालय हप्तामा छ दिन नै सञ्चालन हुन्छ” उहाँले भन्नुभयो, “चार दिन वडा अध्यक्ष र सचिव साविककै वडा कार्यालयमा बसेर सेवा दिन्छौं भने दुई दिन पेखु बाघखोर स्वास्थ्यचौकीको कार्यालयबाट सेवा दिन्छौं ।”
मंगलबार र बुधबार अत्यावश्यकबाहेकका दैनिक सेवाहरु साविकको वडा कार्यालयबाट दिईने भएकाले अत्यावश्यक सेवा लिन परेमा उक्त दुई दिनमा वडावासीहरु पेखु बाघखोर स्वास्थ्यचौकीमा जानुपर्ने हुन्छ ।
“वडाबासीको मागलाई मध्यनजर गर्दै वडा कार्यालयले दुई ठाउँबाट सेवा दिने सूचना टोल टोलमा पु¥याएका छौं” उहाँले भन्नुभयो, “वडाबासीलाई सुरुमा बानी पर्न अप्ठ्यारो भएता पनि पछि सहज हुँदै जाने छ ।”

Google search engine

फेदीमा रहेको वडा कार्यालयमा माथिल्लो भागबाट पैदल जान डेढदेखि दुई घण्टा लाग्ने गरेको पेखु देउरालीका युवा सुरज श्रेष्ठले बताउनुभयो ।
“माथिल्लो भागहरुबाट वडा कार्यालयमा सिधै जानकालागि सहज सडक छैन” उहाँले भन्नुभयो, “सवारी साधन भएकाहरु घुमाउरो बाटो हुँदै वडामा पुग्छन्, पैदल जानेहरुका सामान्य सिफारिस लिनकालागि पनि एक दिन जान्छ ।”
माथिल्लो भागबाट सेवा दिन यसअघि पनि वडाबासीहरुले माग गरेको उहाँले बताउनुभयो । यसअघि पनि माथिल्लो भेगका नागरिकको सहजताकालागि सेवा दिन माग गरिएता पनि कार्यान्वयन हुन नसकेको पेखु देउरालीका स्थानीय युवा श्रेष्ठले बताउनुभयो ।
“भौगोलिक विकटतकाकारण वडा कार्यालयबाट सामान्य सेवा लिन पनि माथिल्लो भेगका नागरिकले बडो सास्ती खेप्नुपर्ने बाध्यता थियो” उहाँले भन्नुभयो, “अब माथिल्लो भेगका नागरिकलाई लक्षित गरी सेवा सुरु हुने भएपछि निक्कै राहत मिल्ने भयो, सिंहदरबार बल्ल गाउँमै आएको महशुस हुने भयो ।”

Google search engine