वालिङ, २४ बैशाख ।
डढेलोकाकारण स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रफल जलेर नष्ट भएको छ । स्याङ्जाका विभिन्न एघार स्थानीय तहमा रहेका एकसय १३ वनमा आगलागि हुँदा एक हजार ८६१ हेक्टर क्षेत्रफल जलेर नष्ट भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिनुभयो । जिल्लाका सामुदायिक वन र राष्ट्रिय वनमा आगलागि भएको हो । सल्ला, चिलाउने, कटुस, साल, सिसौं लगायतका रुखहरु समेत जलेर नष्ट भएका हुन् ।
फागुन महिनाको पहिलो साताबाट स्याङ्जामा आगलागिका घटनाहरु सुरु भएका हुन् । फागुन पहिलो साताबाट सुरु भएको आगलागिका घटनाहरु हिजो आज पनि निरन्तररुपमा फैलिरहेका छन् । आगलागिबाट जिल्लामा ठूलो क्षेत्रफलमा वन जङ्गल जलेर नष्ट भएको हो । वन विनासको मुख्य कारणमध्येको डढेलोले वर्षेनी जिल्लामा लाखौंको मुल्य बराबरको क्षति तथा काठ दाउराजस्ता वनजन्य श्रोतहरु जलेर नष्ट हुने गरेको अधिकारी पराजुलीले बताउनुभयो । “डढेलोका कारणले गर्दा ठूलो सङ्ख्यामा चितुवा, मृग, खरायो, दुम्सीजस्ता वन्यजन्यहरु हताहत हुन्छन्” उहाँले भन्नुभयो, “उनीहरुको वासस्थानकोसमेत नास हुने भएकाले जनावरहरु समस्यामा पर्ने गरेका छन् ।”
वनमा लागेको आगो स्थानीय उपभोक्ता, वन कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा दमकलको सहायतामा नियन्त्रणमा लिने गरिएको छ । वनभोज जाने समूहहरुले वनमा खानेकुरा पकाएपछि राम्रोसँग आगो ननिभाई छाड्ने गर्नु, पाईप मर्मत कार्य गर्दा आगोको प्रयोग गर्ने तर ननिभाई छाड्ने, चुरोट तथा विंडीका ठुटाहरु जथाभावी वनमा फाल्ने, वनसँग जोडिएका खेतबारीमा सुकेका पात पतिङ्गर जलाउँदा अनियन्त्रित भई आगलागि हुने गरेको उहाँले बताउनुभयो ।
“वन उपभोक्ताहरुले झाडी सफाई, कटनी छटनी जस्ता वन ब्यवस्थापनका कार्यहरु, वनभित्रका वनपथ तथा अग्निरेखाहरु सुख्खायाम अगावै राम्ररी सफा गर्नुपर्छ” उहाँले भन्नुभयो, “मानिसको सानो लपरवाहीले गर्दा वर्षेनी वन डढेलो र यसका कारणले हुने प्राकृतिक सम्पदाहरुको विनाशलाई रोक्न र कम गर्न सवै सचेत र जागरुक हुनु आवश्यक छ ।” वनमा आगो लगाउन वा आगलागि हुन जाने कुनै कार्य गर्नुलाई कसूर मानिएको छ । वनसम्बन्धी कसूर गर्नेलाई वन ऐन २०७६ को दफा ५० (४) बमोजिम विगो असुल गर्ने ब्यवस्था रहेको उहाँले बताउनुभयो । कसूर गर्नेलाई साठी हजार रुपैयाँसम्म जरिवाना वा तीनवर्षसम्म कैद वा दुवै सजाय हुने ब्यवस्था भएकाले कसूर गर्ने ब्यक्तिलाई पक्राउ गर्न वा सूचना दिन पनि डिभिजन वन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ ।