सरोकारवालासँगको समन्वय बैठक

0
111
Google search engine

तोलाकान्त बगाले
वालिङ, २४ फागुन ।
स्याङ्जाको वालिङमा अपाङ्गताका सवालका विषयमा सरोकारवालाहरुसँगको समन्वय बैठक बसेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, स्याङ्जा अपाङ्ग समाज, अपाङ सञ्जाल वालिङ, वालिङ नगरस्तरीय पैरवी समूह र स्थानीय सरकार सवलीकरण कार्यक्रमको साझेदारीमा वालिङमा अपाङ्गताका सवालमा विभिन्न कार्यक्रमहरु हुँदै आईरहेका छन् ।
सरोकारवालाहरुको बैठकले विगतामा ब्यक्त प्रतिवद्धताहरुको स्मरण तथा विश्लेषण गरेको छ । विभिन्न सरोकारवाला पक्षसँग भएका प्रतिवद्धता कार्यान्वयन सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । प्रतिवद्धता ब्यक्त भएर पनि कतिपय कार्यहरु अगाडि बढ्न नसकेका वा प्रक्रियामा रहेका प्रतिवद्धताहरुको कार्यान्वयनकालागि थप कार्ययोजना बनाएर अगाठिा बढ्ने निर्णयसमेत बैठकले गरेको पैरवी समूहका संयोजक राम शर्मा पोख्रेलले बताउनुभयो ।
प्रहरी कार्यालय, ट्राफिक कार्यालयकोतर्फबाट चालक, सहचालक र विद्यालयमा गर्ने सचेतनामूलक गतिविधिमा अपाङ्गता सवालको सहजीकरण गर्न स्याङ्जा अपाङ्ग समाजसँग समन्वय गर्ने, बैंक तथा वित्तीय संस्थाहरुले अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज सेवा प्रवाह, सामाजिक उत्तरदायित्व र वित्तीय साक्षरताका गतिविधि उपयुक्त समयमा अगाडि बढाउने, वालिङ नगरपालिकाको आव २०८०÷०८१ को स्वीकृत योजना तथा बजेट प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै सञ्चार माध्यमबाट प्राथमिकताकासाथ सवाल उठान गर्ने र चेतनामूलक सूचनाहरु बनाई प्रकाशन प्रसारण गर्ने, उद्योग वाणिज्य संघको नयाँ सभाहल अपाङ्गतामैत्री बनाउने, भुम्रे माविमा रहेको स्रोत कक्षामा देखिएको समस्या, आयाको थप प्रोत्साहन गर्न आवश्यक देखिएकाले सम्बन्धित निकायमा सबैले पहल गर्ने निर्णय भएको कार्यक्रमका फोकल पर्सन युवराज पराजुलीले बताउनुभयो ।
त्यस्तैगरी अपाङ्गता भएका ब्यक्तिहरुले पनि नागरिक दायित्व समेत निर्वाह गर्नुपर्ने र कुनैपनि समयमा पर्ने समस्या समाधानमा समन्वय गरेर अगाडि बढ्ने सरोकारवालाहरुबीच सहमति भएको हो ।
यसअघि वालिङ नगरपालिकाका जनप्रतिनिधि तथा शाखा प्रमुखहरु, वालिङ उद्योग वाणिज्य संघका पदाधिकारीहरु तथा सदस्यहरु, यातायात ब्यावसायी, वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी पोष्ट वालिङ, पत्रकार तथा सञ्चारकर्मीहरु, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, शिक्षक प्रतिनिधिहरुसँग समन्वयात्मक बैठक गरिएको थियो ।

Google search engine
Google search engine